कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरु पाँच दिनदेखि अनसनमा

 

 

 

रामशरण गैरे

चितवन, २३ साउन । । कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुरका विद्यार्थीहरू विगत पाँच दिनदेखि क्याम्पसको गेटमा पाल टागेर अनसनमा बसेका छन् ।
विश्वविद्यालयले आंगिक कलेजको स्थापना नगरी निजी कलेजलाई सम्बन्धन दिन लागेको भन्दै विरोधमा उत्रेका अखिल क्रान्तिकारी माओवादी केन्द्र र अखिल क्रान्तिकारी ‘विप्लव’ समूहका विद्यार्थीहरूले सम्बन्धनको विषयलाई लिएर असार ६ गते कार्यालयमा तालाबन्दी गरेका थिए ।

असार ६ गते देखिनै निरन्तररूपमा मसाल जुलुस, सीठ्ठी जुलुस, भीसीको कार्यालय धेराउ जस्ता संघर्षका कार्यक्रमहरू गरिरहेका विद्यार्थीहरू १७ गते बिहान कार्यालयमा तोडफोड गरेका र कार्यालयको मुख्य ढोका आगजनी गर्नुका साथै झ्यालका र अफिसका सीसाहरू फुटाएका थिए ।
विश्वविद्यालयले दिने सम्बन्धनका विषयमा विवाद बढ्दै गएको छ । नेपाल सरकारले सात प्रदेशमा स्थापना गर्ने भनेको विश्वविद्यालयको आंगिक कलेजको स्थापना नगरी निजी कलेजलाई सम्बन्धन दिनेतर्फ विश्वविद्यालयका पदाधिकारीहरु लागेको आरोप विद्यार्थी संगठनको छ ।
विश्वविद्यालयका आंगिक क्याम्पस स्थापना गर्न छाडेर निजी कलेजलाई सम्बन्धन दिने खेलमा विश्वविद्यालयका पदाधिकारीहरु लागेको अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश पाण्डेले बताए । तालाबन्दी गर्दा पनि मागको सुनुवाइ नभएकोले कडा संघर्षमा उत्रनु परेको र रामपुरमा रहेको क्याम्पस नजिकै स्थापना हुने कलेजलाई सम्बन्धन दिनुको अर्थ नभएको पाण्डेले बताए ।
नेपाल सरकारले कृषि तथा वनविज्ञान विश्वविद्यालयलाई स्थापना गर्न सिनेट बैठकले अनुमति दिएका आंगिक कलेजहरू सिन्धुलीको कपिलाकोट, महोत्तरीको बर्दिवास, धनकुटाको पाख्रीवास, गोरखाको च्याङ्ली, स्याङ्जाको चाँपाकोट, रोल्पाको माडीचौर, वन विज्ञानतर्फ उदयपुरको कटारी र कृषि अनुसन्धानका लागि गोरखाको च्यालकोट र कालीकोटको पदमघाटलाई लत्याउँदै विश्वविद्यालयले नवलपरासीको गैँडाकोटमा दुई कलेज, परासी, झापा, इटहरी, सप्तरी, सुर्खेत ,कोहलपुर, टीकापुर र काठमाडाँैमा एक÷एक गरी १० निजी कलेजलाई सम्बन्धन दिने तयारी गरेको छ ।

त्यसको विद्यार्थी संगठनले चर्को विरोध गर्दै आइरहेका छन् । विश्वविद्यालयकै पदाधिकारीको सेयर सदस्य रहेको कलेजमा पहिला सम्बन्धन दिनुमा ठूलै पैसाको चलखेल रहेको विद्यार्थी संगठनले आरोप लगाउदैं आएका छन् ।
यता अनेरास्ववियुले र नेविसंघलगायतका अन्य विद्यार्थी संगठनहरू पनि विश्वविद्यालयले आंगिक कलेजको स्थापना नगरी निजी कलेजलाई सम्बन्धन दिन लागेकोमा विरोधमा रहेका छन् र फरक ढंगले आन्दोलन गर्ने जनाएका छन् ।

चितवनपोष्टबाट