सौराहामा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

चितवन, २० साउन । पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबार साझाँ भएको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका सौराहामा सौराहा घुमेर मालपुर चोकतर्फ आउँदै गरेको ना ४५ प ३४०४ नंको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा स्थानीयवासी १९ वर्षीय युसुब भनिने रोमश लामाको मृत्यु भएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

उनीसँगै साइकलमा सवार रोशन थापा घाइते भएको बछ्यौली प्रहरीले जनाएको छ ।
सोही क्रममा अर्को साइकललाई समेत ठोक्किन पुग्दा रत्ननगरका सुलभ तामाङ र कृष्ण लामासमेत घाइते भएका छन् ।

तीनै जनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक भरतपुरका–१२ का २५ वर्षीय प्रेम मगरसमेत घाइते भएको प्रहरीले जनाएको छ । उनको टाँडीस्थित ओमसाइराम अस्पतालमा उपचार भइरहेको छ ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई भने निणन्त्रणमा लिइएको छ ।