अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बढेका हुन् । चितवन राष्ट्रिय निकुञ्जमा गएको आर्थिक वर्ष २०७३/७४ मा १ लाख ३९ हजार १ सय २५ पर्यटक प्रवेश गरेका छन् ।
जसमध्ये नेपाली ३६ हजार ५६ जना, सार्क राष्ट्रका १५ हजार ८ सय ७९ र अन्य विदेशी ८७ हजार १ सय ९० रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत एवंम सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष ०७२/०७३ मा ८७ हजार ३ सय ९१ पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका थिए ।
नारायणगढ–मुग्लिन सडक विस्तारपछि पटक पटक पहिरो गएर सडक अवरुद्ध हुने, सडक आयोजनाले कहिले दिउँसो त कहिले रातिमा सडक बन्द गरेर काम गर्ने जस्ता कारण गएको आर्थिक वर्षमा पनि सोचे अनुरुप पर्यटक चितवन आउन नसकेका अर्यालले बताउनुभयो ।
निकुञ्जले आर्थिक बर्ष २०७३/०७४ मा २० करोड ४ लाख ४८ हजार ३७२ रुपैयाँ राजश्व संकलन भएको अर्यालले जानकारी दिनुभयो । अघिल्लो वर्ष ११ करोड ६८ लाख ५३ हजार ७१० रुपैयाँ मात्रै राजश्व संकलन भएको थियो ।