टिकौली जंगलमा दिशापिसाव गर्न र फोहोर फाल्न प्रतिवन्ध/फोन उठाउदैनन् निकुञ्जका प्रमुख संरक्षण अधिकृत

 

 शिशिर सिंखडा

चितवन, ५ साउन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा सवारी साधन रोके जरिवाना लाग्ने भएको छ । संरक्षित वन्यजन्तुहरु आवतजावत गर्ने सो सडकको एकातर्फ चितवन राष्ट्रिय निकुञ्जको जंगल पर्दछ भने अर्कोतर्फ वरण्डाभार वन क्षेत्र पर्दछ ।

सो राजमार्ग अन्तर्गत भरतपुरको गोन्द्राङ्गदेखि रत्ननगरको टिकौलीसम्मको करिव ६ किलोमिटर सडकमा मोटरसाइकल रोके १ सय, साना सवारी साधनको ५ सय र ठूला सवारी साधन रोकेमा १ हजार जरिवाना लाग्नेछ । सो जंगल क्षेत्रमा यस अगाडि सवारी साधन रोकी दिशापिसाव गर्ने र फोहोर फाल्ने गरिदै आएको थियो ।

गत श्रावण १ गतेबाट जंगलमा सवारी साधन रोक्ने, फोहोर फाल्नेलाई जरिवाना लिन थालिएको चितवनका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए । गतवर्ष सो सडक खण्डमा सवारी साधन नरोक्न र फोहोर नफाल्न भन्दै निकुञ्ज, वन र प्रशासनको संयुक्त पहलमा सचेतना कार्यक्रम गरिएको थियो । गत वर्ष नै “संरक्षणका लागि १ मिनेट अभियान” समेत संचालन गरिएको थियो ।

सवारी साधन रोक्ने क्रम घट्दो – जिवअ पौडेल

गत श्रावण १ गतेबाट सवारी साधन रोक्नेलाई टिकौली जंगलमा जरिवाना लिन थालिएपछि सवारी रोक्ने क्रम न्यून हुँदै गएको छ । सो कार्यको लागि सडक खण्डको बिच भागमा सुरक्षा पोष्ट समेत स्थापना गरिएको छ । सुरक्षा पोष्टमा ५ जना चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत नेपाली सेना र जिल्ला वन कार्यालय अन्तर्गतका २ जना सशस्त्र वनरक्षक खटिएका छन् ।

सवारी साधन रोकेको थाहा पाउने वित्तिकै पोष्टमा खटिएका सुरक्षाकर्मीले रसीद काटी जरिवाना लिने गरिएको जिल्ला वन अधिकृत पौडेलले बताए । यदी अटेरी गरेमा राष्ट्रिय निकुञ्ज ऐन अनुसार थप कारवाही पनि गरिने पौडेलले बताए । वन्यजन्तुहरु निकुञ्ज र संरक्षित क्षेत्रमा आवतजावत गर्न बाधा नपुगोस् भन्ने उद्देश्यले सो कार्य हाललाई दिनमा मात्र थालनी गरिएको छ भने केही समयबाट रातमा पनि सुरक्षाकर्मी तैनाथ गरी सवारीसाधन रोक्ने र फोहोर फाल्ने कामको निगरानी गरिने पौडेलले बताए । सो जंगलबाट संरक्षित जनावरहरु गैडा, बाघ, जरायो, हरिण, बदेल लगायत वन्यजन्तुहरु ओहोरदोहोर गर्दछन् ।

सुरक्षा व्यवस्था राम्रो हुने – रत्ननगर उवासंघ अध्यक्ष रेग्मी

टिकौली जंगल क्षेत्रमा सुरक्षा पोष्ट राखेर वन्यजन्तुको मात्र नभई मानवीय सुरक्षा पनि हुने रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले बताए । यस जंगल क्षेत्रमा विभिन्न अपराधिक घटना, लुटपाट समेत हुँदै आएको थियो । वन्यजन्तुको सुरक्षासँगै मानवीय सुरक्षा समेत बढ्ने भएकोले यो कार्यको उनले प्रशंसा समेत गरे । साथै सवारी साधनमा यात्रारत यात्रुलाई मध्यनजर गर्दै टिकौलीमा रत्नगर उद्योग वाणिज्य संघ र रोटरी क्लवको संयुक्त लगानीमा सार्वजनिक शौचालय निर्माण गर्न थालिएको समेत उनले बताए ।

यात्रुलाई समस्या भयो – भण्डारी

जंगल क्षेत्रमा सवारी साधन रोक्न नदिनु राम्रो पक्ष हो, जंगल खण्डको दुवैतर्फ शौचालय नहुँदा सो सडकखण्डमा यात्रारत यात्रुहरुलाई समस्या हुने गरेको खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भण्डारीले बताए । जंगल खण्डको दुवैतर्फ तत्काल शौचालयको आवश्यकता रहेको र दुवैतर्फ सवारी रोक्न नहुने सूचनामुलक होर्डिङ्ग बोर्ड पनि देखिने गरी राख्नुपर्ने भण्डारीले बताए । भएका होर्डिङ्ग बोर्ड पनि झाडी भित्र छन् र पर्याप्त मात्रामा आवश्यक स्थानमा होर्डिङ्ग बोर्ड राखिएको छैन, उनले भने ।

तत्काल होर्डिङ्ग बोर्ड राख्नु र शौचालय बनाउनु – प्रजिअ

टिकौली जंगल क्षेत्रमा वन्यजन्तुको सुरक्षाको लागि सुरक्षा पोष्ट स्थापना गरी सवारी साधन रोक्नेलाई जरिवाना लिन थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए । वन्यजन्तुको सुरक्षासँगै यात्रुहरुलाई सुविधा पुग्ने उद्देश्यले तत्काल सूचनामुलक होर्डिङ्ग बोर्ड देखिने गरी आवश्यक स्थानमा राख्न र सार्वजनिक शौचालय तत्काल निर्माण गर्न पनि आफुले निर्देशन दिइसकेको भट्टले बताए ।

फोन उठाउदैनन् निकुञ्जका प्रमुख संरक्षण अधिकृत

वरण्डाभार जंगल क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा “वरण्डाभार जैविक मार्ग, टिकौली खण्ड संयुक्त अपरेसन क्याम्प” गत श्रावण १ गतेबाट शुरु भएको छ । सो सम्बन्धमा जानकारी लिन पटक पटक फोन गर्दा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेलको फोन उठेन । मोबाइलमा पटक पटक घण्टी गएपनि उनले साझसम्म पनि फोन फर्काएन । वन र वन्यजन्तुको सुरक्षामा खटिने कार्यालय प्रमुखलाई पटक पटक सम्पर्क गर्दा सम्पर्क हुन नसक्नुले निकुञ्ज र यस क्षेत्रको सुरक्षा व्यवस्थाको अवस्था कस्तो रहला ? त्यो भने भावी समयले बताउने छ ।

गोन्द्राङ्गको सडक मर्मत नहुँदा समस्या

टिकौली जंगल क्षेत्रमा सवारी साधन रोक्न नदिनु वन र वन्यजन्तु मात्र होइन, मानवीय रुपमा पनि सुरक्षा व्यवस्था बढेको छ । यद्यपी भरतपुरको गोन्द्राङ्ग ढाट नजिकै सडक बिग्रिएर बाटो एकातर्फी भएको महिनौ भइसकेको छ । सो सडक एकातर्फी हुँदा करिव १ किलोमिटर सडकमा सवारी साधन लाम लाग्नुपर्ने बाध्यता छ । जंगलभित्र यसरी सवारी साधन लाम लाग्दा वन्यजन्तुलाई झन् बढी असर परेको छ । सो सडक दु्रत गतिमा निर्माण सम्पन्न नहुँदा समस्या बढ्दै गएको छ ।

हर्न बजाउन समेत नहुने

निकुञ्ज क्षेत्रमा वन्यजन्तुलाई असर नपुगोस् भनेर टिकौली जंगल क्षेत्रमा सवारी साधन रोक्न बन्देज गरिएपनि हर्न बजाउन भने रोकिएको छैन । कुनैपनि निकुञ्जको सडकमा हर्न बजाउन नपाइने कानुनी व्यवस्था भएपनि यस क्षेत्रमा न त हर्न बजाउन रोक लगाइएको छ, न त सवारीको गतिलाई कम गराउन सकिएको छ । तिव्र गतिमा सवारी साधन आवतजावत गर्ने गर्दा जनावरहरु सवारी साधनमा ठोक्किएर धेरै मरेका छन् भने सवारी धनी भाग्ने गरेका छन् । गत १ वर्षमा भएका यस्ता १३ वटा घटनामा ३ वटाको मात्र कानुनी प्रक्रिया अनुसार कारवाही भएको पाइएको छ ।