चितवनमा लागु औषध प्रयोगकर्ताको संख्यामा वृद्धि हुँदै

चितवन, २८ असार । चितवनमा लागु औषध प्रयोगकर्ताको संख्यामा वृद्धि हुँदै गएको छ । प्रयोगकर्तासँगै यसको कारोबारमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गर्न समेत चितवन प्रहरीले सफलता पाएको छ ।

चितवनमा चालु आर्थिक वर्ष २०७३/०७४ को जेठ मसान्तसम्ममा ठूलो परिमाणमा लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएका छ ।

यस आर्थिक वर्षमा पाँच सय ७३ किलो चरेश, २६ किलो गाँजा, १४ लिटर कोरेक्सलगायत अन्य लागु औषध प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले जानकारी दिए ।

प्रहरीले लागु औषध कारोबारको ४७ वटा मुद्दामा चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ८० जनालाई पक्राउ गरि मुद्दा चलाएको थापाको भनाइ छ ।

लागु औषध कारोबारीसँगै प्रयोगकर्ता समेत नियन्त्रणमा लिएर प्रहरीले अभिभावकको जिम्मा लगाउने गरेको छ । प्रहरीले यस वर्ष सात सय ५० जना लागु औषधका दुव्र्यसनीलाई नियन्त्रणमा लिएर अभिभावकको जिम्मा लगाएको छ ।

बेरोजगार हुनु, उच्च महत्वकांक्षा राख्नु, एक्लोपना हुनु, कौतुहलता हुनु आदी कारणले लागु औषधको प्रयोगकर्ता बढ्दै गएको प्रहरी उपरीक्षक थापाको भनाइ छ । चितवनमा किशोर अवस्थाका र विशेष गरि १० जोड दुई पढ्ने विद्यार्थीहरु कुलतमा फस्ने गरेको थापाले बताए ।

प्रहरीले लागु औषध कारोबारमा संलग्न रहेका व्यक्तिसँग ओसारपसारमा प्रयोग भएका सवारी साधन समेत नियन्त्रणमा लिएको छ । लागु औषध ओर्सान प्रयोग गरिएको दुई वटा ट्रक र दुई वटा भारतीय नम्बर प्लेट भएको टाटा सुमोलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा बुझाएको छ ।