प्रमुख दलका शीर्ष नेताहरु देश दौडाहमा/को को कहाँ कहाँ जाँदैछन् ?

 

काठमाडौं, ९ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि यतिबेला दलका नेतारु देश दौडाहमा व्यस्त छन । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा मओवादी केन्द्र र राप्रपालगायतका दलका शीर्ष नेताहरु विभिन्न जिल्लामा आयोजित चुनावीसभाको सम्बोधनमा व्यस्त देखिएका छन् ।

कांग्रेस सभापति देउवा ७ नम्बर प्रदेशको भ्रमणमा

देश दौडाहाकै क्रममा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबारदखि प्रदेश नम्बर ७ को भ्रमणमा हुनुहुन्छ । सभापति देउवाले शुक्रबार दिउँसो कैलालीको धनगढी उपमहानगरपालिकाको क्याम्पस रोड र फूलबारीमा आयोजना हुने नेपाली काँग्रेसको दुई छुट्टाछुट्टै चुनावीसभालाई सम्बोधन गर्नुहुनेछ ।

उहाँले शनिबार कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका निजी सचिव एवं अधिवक्ता केशवराज जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार देउवाले आइतबार ११ गते डोटीको बुडर र आफ्नै गृहजिल्ला डडेलधुराको जोगबुडामा आयोजना हुने काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री देउवा ११ गतेदेखि १४ गतेसम्म गृहजिल्ला डडेल्धुराको सदरमुकाम अमरगढीमा रहनुहुनेछ । उहाँ १४ गते बिहान आफू जन्मेको रुवाखोला गाउँको मतदना केन्द्र हाल गन्यापधुरा गाउँपालिकाको वडा नम्बर १, असिग्राम माविमा रहेको मतदना केन्द्रमा मतदान गरी काठमाडौंँ फर्किनु हुने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमाले अध्यक्ष ओली गृहजिल्लामा

नेकपा एमालेका अध्यक्ष केपी ओली पनि देशदौडाहमै व्यस्त हुनुहुन्छ । एमाले अध्यक्ष ओली चुनावी सभामा सहभागी हुने क्रममा बिहीबार गृहजिल्ला झापाको मेचीनगर, भद्रपुृर, गौरदह र कमल गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्नु भएको थियो । अध्यक्ष ओलीले शनिबार विराटनगर र इटहरी तथा ११ गते भैरहवा र नवलपरासीमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

माओवादी अध्यक्ष दाहाललाई पनि भ्याइनभ्याई

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश दौडाहका क्रममा शुक्रबार विभिन्न जिल्लामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । दाहालले बिहीबारमात्रै बाँके, बर्दिया र कैलालीका विभिन्न ७ ठाउँमा आयोजित चुनवीसभालाई सम्बोधन गर्नुभएको थियो ।

कांग्रेस नेता पौडेल रुपन्देहीमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि स्थानीय तह निर्वाचनकै लागि बिहीबार नै रुपन्देही पुगीसक्नु भएको छ । नेता पौडेलले शुक्रबार कपिलवस्तुमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्नु हुनेछ भने शनिबार नवलपरासीमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने श्रोतले जनाएको छ ।

एमाले नेता नेपाल पनि तीनदिने देश दौडाहमा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि तीनदिनका लागि देशदौडाहमा शुक्रबार नै निस्किनु हुने बताइएको छ । उहाँले तीनदिनमा उदयपुर, कञ्चनपुर, डडेल्धुरा, धरान र विराटनगरमा हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको श्रोतले जनाएको छ । श्रोतकाअनुसार नेता नेपाल चुनावी सभामा सहभागी हुन शुक्रबार उदयपुर, शनिबार कञ्चनपुर र डडेल्धुरा पुग्नु हुनेछ भने आइतबार धरान र विराटनगरको कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

दोस्रो चरणमा थुप्रै सिट बटुल्ने राप्रपाको दाउ

पहिलो चरणको स्थानीय तह निर्वाचनमा सोचे जस्तो सिट हासिल गर्न नसके पनि दोस्रो चरणको निर्वाचनमा भने धेरै ठाउँमा जित हासिल गर्ने उद्देश्यले राप्रपाका अध्यक्ष कमल थापा पनि देश दौडाहामा व्यस्त हुनुहुन्छ ।

राप्रपा अध्यक्ष थापा बुधबारबाटै राजधानी छाडेर जिल्लातिर लागिसक्नु भएको छ । उहाँले बिहीबार उदयपुरमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । अध्यक्ष थापाले आइतबारसम्म दाङ, बाँके, कैलाली, डडेल्धुरा र बैतडीमा आयोजना हुने चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भइसकेको राप्रपाले जनाएको छ ।

उपेन्द्र यादव पश्चिमतिर

केही मधेसकेन्द्रित दलले निर्वाचनमा सहभागि नहुने भनि रहँदा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने निर्वाचनका लागि देश दौडाहमा निस्किसक्नु भएको छ । अध्यक्ष यादव अहिले पश्चिमका विभिन्न जिल्लामा आयोजित चुनावीसभामै व्यस्त हुनुहुन्छ ।