कालाबञ्जरलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास

चितवन, ७ असार । भरतपुर महानगरपालिका २६ मा पर्ने कालाबञ्जर क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनेबारे बहस सुरु भएको छ । चितवन पर्यटन विकास समितिले मंगलबार ‘कालाबञ्जर क्षेत्रको पर्यटन विकासबारे अन्तरक्रिया’ कार्यक्रममा स्थानीयले पर्यटकीय क्षेत्र बनाउन चासो देखाएका छन् ।

नारायणगढ देखि करिव ११ किलोमिटर पश्चिम गोब्रेनी देखि लगौटा–गाजिपुर–सिमरी टाउन––सिस्वाह–खयरघारी हुदै भगडीसम्म करिव १४ किलोमिटर लम्बाईको कालाबञ्जर क्षेत्रमा पर्यटन विकासबारे प्रारम्भिक छलफल सुरु भएको छ । मध्यवर्ती क्षेत्र कालाबञ्जर उपभोक्ता समितिका अध्यक्ष रेविजंग गुरुङले पर्यापर्यटन विकास गर्न छिटै गुरुयोजना बनाइने बताए । उनले चाँडै मागर र गुरुङ समुदायका होमस्टे सञ्चालनमा ल्याएर पर्यटक भित्र्याउन छलफल चलेको बताए ।

नारायणी नदीमा निर्माणाधिन जनताको तटबन्धनले पर्यापर्यटनमा सघाउने बताए । सोइटी वर्दाहा सामुदायिक वनका जीवनराम महतोले कालाबञ्जर क्षेत्रमा रहेका ६ वटा सामुदायीक वनलाई पर्यटन केन्द्रका रुपमा विकास गर्न सकिने बताए । कार्यक्रममा कालाबञ्जर उपभोक्ता समितिका उपाध्यक्ष जयसरा थापा, पूर्वअध्यक्ष भुपालनाथ कँडेल, स्थानीय रणबहादुर विक, लिभिङ विथ टाइगरका प्रकाश चापागाई लगायतले निकुञ्ज आसपासको क्षेत्रमा फैलिएको कालाबञ्जर प्रचर सम्भावना बोकेको पर्यटकीय क्षेत्र भएको बताए ।

चितवन राष्ट्रिय निकुञ्जका रेञ्जर छत्रबहादुर खड्काले कालाबञ्जर सौराहा जस्तै पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले पर्यटन क्षेत्रको बजेट वृद्धि गरी एकिकृत रुपमा पर्यटन पूर्वाधार विकास गर्नुपर्ने सुझाव दिए । समितिका अध्यक्ष दिलिप मैनालीले पर्यटन क्षेत्रमा नीजि क्षेत्रको लगानी भित्र्याएर कालाबञ्जरलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन आग्रह गरे । स्थानीयले चाँडै पर्यटन समिति बनाएर काम थालनी गर्ने योजनामा रहेका छन् ।