एसईईको परीक्षाफल सार्वजनिक, १२ हजार २८४ परीक्षार्थी, ए प्लसु ग्रेडिङमा ( यसरी हेरौँ नजिता)

 

काठमाडौं, असार २ । गत चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शुक्रबार सार्वजनिक गरेको परीक्षाफल अनुसार १२ हजार २ सय ८४ परीक्षार्थी ‘ए प्लस’ (जीपीए ३.६५ देखि ४.० सम्म) ग्रेडिङमा पर्न सफल भएका छन्।

३.२ देखि ३.६ जीपीए ल्याउने परीक्षार्थी ४२ हजार ४ सय २७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ५० हजार ६ सय ४६ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने ६१ हजार ९ सय ५५ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने परीक्षार्थी १ लाख ८ हजार ४ सय ६४ जना छन्।

यसैगरी ६४ हजार ५ सय ७५ जनाले १.२५ देखि १.६० र ११ हजार २ सय ८५ जना परीक्षार्थीले ०.८५ देखि १.२० जीपीए ग्रेडिङ अंक प्राप्त गरेका छन्। २१९ जनाको परिक्षा रद्द गरिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।

त्यसमध्ये २१६ जनाको एक-एक विषयको परीक्षा रद्द भएको छ भने ३ जनाको पूरै रद्द गरिएको छ। यसअघि एसएलसी नामले परिचित यस परीक्षालाई यही वर्षदेखि एसईईमा रुपान्तरण गरिएको हो। माध्यमिक शिक्षा कक्षा १२ सम्म कायम भएपछि १० कक्षाको परीक्षालाई एसईई भन्न थालिएको हो।

दुई विषयसम्म न्यून ग्रेडिङ प्राप्त गरेर त्यसलाई बढाउन चाहने परीक्षार्थीहरुका लागि पूरक परीक्षा साउन १९ गतेबाट २६ गतेसम्म सञ्चालन हुने रेग्मीले जानकारी दिए। हेर्नुहोस् परीक्षाफल संक्षिप्तमा :

नतिजा हेर्नका लागि

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरकाे बेवसाइ www.soce.np मा हेर्न सकिने बाेर्डले जनाएको छ । त्यस्तै www.neb.gov.np नतिजा हेर्न सकिने बाेर्डले जनाएको छ । तर, लोड बढी भएका कारण यी साइटहरू खुल्न सकेका छैनन् ।

परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।

कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ ।

नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।