भरतपुरको निषेधित क्षेत्रले सर्वसाधारण मर्कामा/सरकारी कार्यालयमा आउने सेवाग्राही मर्कामा

आनन्द पोख्ररेल
चितवन, २९ जेठ । भरतपुर महानगरपालिकाको मतगणनास्थल वरिपरि करिब एक महिनादेखि निषेधित क्षेत्र घोषणा गरेर राखिदा सेवाग्राही मर्कामा परेका छन् । मतगणना स्थल सुरक्षाका लागि भन्दै निषेधित क्षेत्र घोषणा गरेको ठाउँमा अत्यावश्यक सरकारी कार्यालय कार्यालय तथा अस्पताल जाने सडक समेत पर्दछ ।
भरतपुर महानगरपालिकाको मतगणनास्थलमा अमर्यादित क्रियाकलाप हुन नदिनको लागि स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको २८ दिन भइसकेको छ । मतगणना स्थल कबर्ड हललाई लक्षित गरेर वरिपरीको सुरक्षा व्यवस्था कडा बनाउँदै उक्त ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

सेवाग्राहीको चाप धेरै हुने सरकारी कार्यालय जाने बाटोमा निषेधित क्षेत्र घोषणा गरिनुले आफूहरुको कामकाजमा नै असर परेको पटिहानीका सेवाग्राही प्रेम प्रसाद आचार्य बताउचन् ।
जिल्ला समन्वय समिति, नेपाल टेलिकमको कार्यालय निषेधित क्षेत्र भित्र परेका छन् भने, भरतपुर अस्पताल, नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्र जाने बाटो समेत निषेधित क्षेत्रमा पर्दछ ।

सजिलो र छिटो पुगिने बाटोको बिकल्पमा सेवाग्राहीहरुले लामो र झण्झटिलो बाटो प्रयोग गर्न बाध्य भएका छन् । पुग्नुपर्ने कार्यालयभन्दा टाढै सवारी साधन राखेर यो चर्को घाममा हिँडेर जाँदा समस्या परेको भरतपुर १२ का सेवाग्राही देवराज पराजुलीको गुनासो छ ।
निषेधित क्षेत्र भएको क्षेत्रबाट पहिले नगर बस समेत सञ्चालन आउने गरेका थिए ।

सरकारी कार्यालय धेरै भएको र जनचाप समेत हुने कार्यालयहरु यसै स्थानमा भएकोले यातायात सञ्चालन गरिएको थियो । चर्को घाममा हिँडेर काममा जानुपर्दा असहज भएको मुग्लिङबाट गाउँको विकासे फाइल लिएर जिविसमा आउनुभएकी अप्सरा पौडेल बताइन् ।
भरतपुर महानगरपालिकाको मतगणना स्थल भरतपुर कबर्ड हलमा दैनिक जस्तो विभिन्न खेलकुदका कार्यसमेत हुने गर्दथे । निषेधित क्षेत्र घोषणा भएसँगै खेलकुदमा समेत असर गरेको छ । मतपत्र च्यातिएर स्थगित भएको मतगणना प्रकृयालाई चाँडै निकास दिएर भरतपुरको अवस्था सामान्य बनाउन आवश्यक छ ।