भरतपुर–१९ का मतदाताले भने ‘ जनताको मतको कदर होस्’

तुलमान गुरूङ
चितवन, २५ जेठ ।  निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदान गर्ने भनेपछि उक्त वडा अहिले निकै चर्चामा छ ।
यहाँका मतदाता निर्वाचन आयोगले गरेको निर्णयप्रति खुसी छन् ।

गत १४ गते राति माओवादी केन्द्रका दुई कार्यकर्ताले मतगणनास्थलभित्रै मतपत्र च्यातेपछि आयोगले पुनःनिर्वाचन गर्नुपर्ने निर्णय गरेको हो । गत वैशाख ३१ गते दिनभर लाइन लागेर भोट हालेका जनता फेरि मतदान गनुपर्ने भएपछि निर्वाचन आयोेगले गरेको निर्णय सकारात्मक रहेको भन्दै भोट खसाल्न तयार छन् ।

सबैतिर पुनः मतदान वा मतगणना भन्ने विषयमा बहस चलिरहँदा यहाँका जनता भने मतदानकै पक्षमा देखिएका छन् ।
वैशाख ३१ गते दिएको महत्वपूर्ण मतको कदर हुन नसकेको भन्दै दलहरूप्रति रूष्ट नभएका भने होइनन् ।

तर, विभिन्न बहानामा जनताको अमूल्य मतको कदर गर्न नसके पनि आफ्नो अधिकारको प्रयोग गर्नका लागि यहाँका स्थानीय आतुर छन् । आयोगले समयमै निर्वाचनको मिति तोकिदिए राम्रो हुने भन्दै स्थानीय सरकार छनौटका लागि आफूहरू तयार रहेको स्थानीय गोमा आलेमगरले बताइन् ।
‘एकपटकमा पूरा हुनुपर्ने काम दलहरूकै कारण दुईपल्ट गर्नुपर्ने भयो,’ उनले भनिन्, ‘जतिपल्ट चुनाव भए पनि आफ्नो अधिकारका लागि त भोट दिनैप¥यो नि ।’ अर्का मतदाता सोम सुनार पनि निर्वाचनकै पक्षमा छन् ।

‘जनताले दुःख पाए भनेर हामीले आफ्नो स्थानीय सरकार चुन्न नि नपाइने ?’ उनले भने, ‘नगर्नु थियो गल्ती ग¥यो । तर, एउटाले मतपत्र च्यात्यो भन्दैमा यतिकै छोड्न त भएन नि । बरू समयमै मिति तोकेर निर्वाचन गराए हुन्छ ।’
मतगणनास्थलमै मतपत्र च्यातिएको विषयमा भगवती गुरूङले भने आक्रोश व्यक्त गरिन् । ‘हामीले आफ्नो इच्छाअनुसार गोप्य मतदान गर्दा पनि सुख नपाइने,’ उनले भनिन्, ‘अब हामीलाई मतदान भए पनि ठिकै छ, मतगणना भए पनि ठिकै छ ।

तर, जनताको मतको कदर हुनुप¥यो ।’ विधि र प्रक्रियाअनुसार निर्वाचन आयोगले गरेको निर्णयलाई स्वीकार गर्दै स्थानीय सरकार छनौटको लागि आयोगकै निर्णय मान्न तयार रहेको उनले बताइन् ।
अब निर्वाचन भए पनि मतगणना भए पनि सरकारले सुरक्षा व्यवस्था कडा बनाएर सम्भावित दुर्घटना हुन नदिने उपाय अपनाउनुपर्ने स्थानीय नैनु गुरूङको सुझाव छ । ‘यसपटक त जनताले दुःख पाए, अबका दिनमा नपाओस्,’ उनले भनिन् । अहिलेको अवस्थामा वरिपरी छरछिमेकमा पनि निर्वाचनकै कुरो चलिरहेकोले आफू पनि निर्वाचनकै पक्षमा रहेको उनले बताइन् ।  चितवन पोष्ट