प्रधानमन्त्री देउवाद्वारा ३ बजेर ४२ मिनेटमा पदभार ग्रहण, सिंहदरबारमा अन्तरप्रदेश सचिवालय गठन गर्ने र सदाचार नीतिको मस्यौदा तयार पार्ने निर्णय

काठमाडौं, जेठ २४  । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दिउँसो ३ बजेर ४२ मिनेटमा पदभार ग्रहण गरेका छन्। बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सपथग्रहण गरेका प्रधानमन्त्री देउवाले दुईवटा निर्णयमा हस्ताक्षर गरी पदभार ग्रहण गरेका हुन्।

देउवाले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अन्तरप्रदेश सचिवालय गठन गर्ने र सदाचार नीतिको मस्यौदा तयार गरी प्रधानमन्त्री कार्यालयमा पेश गर्ने सम्बन्धी दुईवटा निर्णयमा हस्ताक्षर गरेका हुन्।

चौथोपटक मुलुकको सर्वोच्च कार्यकारी भएका देउवा मंगलबार प्रधानमन्त्री निर्वाचित भएका हुन्।