“कृपया मलाई बचाउनुहोस्”

कारी महतो
चितवन २४ जेठ । वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका खैरहनी नगरपालिका वार्ड नं. १ चितवनका ३५ वर्षीय हरेराम महतोको दुइटै किड्नी फेल भएपछि उनी नेपाल फर्केका छन् । हाल उनी वीर हस्पिटल काठमाडौंमा डायलाइसिस गरिरहेका छन् ।
गरीबीका कारण उनी चार वर्ष अगाडि के एल मेनपावर कम्पनी मार्फत बिदेसिएका थिए । साउदीमा उनी युनिभर्सल कोल्ड स्टोरको लागि ड्राइभिङ्ग काम गर्दथे । हरेराम उच्च रक्तचापका कारणले दुवै मृर्गौला फेल भएपछि नेपाल फर्केका हुन् ।


उनको पारिवारिक सम्पत्तिको नाममा पाँच धुर घडेरी र टिनले छाएको दुईकोठे घर मात्र छ । दुई छोरी र एक छोराका पिता हरेराम हरेराम महतोका श्रीमती र आमा सहित ६ जनाको परिवार छ । परिवार पाल्नका लागि विदेशिएका महतोको स्वास्थ्य बिग्रिएपछि पनि उपचारका लागि कम्पनीले कुनै सहयोग नगरेको उनले बताए । “कम्पनीले केहि पनि दिएन, मैले आफ्नै पैसाले टिकट काटेर नेपाल आएको हुँ” उनले बताए ।
उपचारका लागि निकै ठूलो रकम खर्च लाग्ने भएकोले उनलाई सहयोगी हातहरुको खाँचो छ । मृर्गौला प्रत्यारोपणको लागि उनका श्रीमती बिन्दु दराई महतो तयार भएपनि खर्च अभावका कारण उपचार गराउन असमर्थ छ ।
मृर्गौला सम्बन्धी रोगको उपचारका लागि सरकारले छुट दिएपनि काठमाडौंमा बसेर उपचार गराउन उनलाई ठूलो आर्थिक समस्या आईपरेको छ ।
मृर्गौला प्रत्यारोपण गरेर सामान्य जीवन यापन गरेका थुप्रै उदाहरणहरु छन् । उनी भन्छन् “म पनि बाँच्न चाहन्छु, कृपया मलाई बचाउनु होस् ।”