३८८ मत ल्याउँदै शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्री निर्वाचित (पुरा जीवनीसहित)

काठमाडौँ, जेठ २३ । काँग्रेस सभापति शेरबहादुर देउवा नेपालको ४० औँ प्रधानमन्त्री बनेका छन्। मङ्गलबार अपरान्ह व्यवस्थापिका संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा उनी ३८८ मत ल्याउँदै विजयी बनेका हुन्। देउवा गणतान्त्रिक व्यवस्थाको दशौँ तथा आफ्नो जीवनमा चौथो पटक प्रधानमन्त्री बनेका हुन्।

५५८ सांसद उपस्थित संसदमा देउवाको विपक्षमा १७० मत परेको छ।

यसअघि उनी, २०५२ २०५८ र २०६१ सालमा प्रधानमन्त्री बनेका थिए। ०६१ साल माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउवालाई ‘कु’ गरेर प्रधानमन्त्रीबाट बर्खास्त गरेका थिए। त्यसको ठीक १२ वर्ष ४ महिनापछि देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

देउवालाई कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, नेकपा संयुक्त, अादि पार्टीका सांसदहरुले समर्थन गरेका थिए।

यस्तो छ शेरबहादुर देउवाको जीवनी
नेपाली काँग्रेस संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाको जन्म २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा भएको हो ।

हाल उनी बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आएका छन् ।

बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने नवनिर्र्वाचित संसदीय दलका नेता देउवा पार्टी संस्थापक नेता बिपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिएका हुन् ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकार अपदस्थ गरिएपछि नेता देउवा काँग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घका संस्थापक सभापति हुन् ।

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।

पिता प्रसादसिंह देउवा र माता द्रौपतीदेवी देउवाका जेठा छोरा सभापति देउवाको एक छोरा हुन् । उनकी धर्मपत्नी डा आरजु राणा देउवा पनि हाल व्यवस्थापिका–संसद्को सदस्य हुन् ।

नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा एउटै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट अधिक मतान्तरमा निर्वाचित भए ।

विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा पनि डडेल्धुरा र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले विसं २०४८ देखि २०५१ सम्म गृहमन्त्री एवम् तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी पहिलोपटक काँग्रेस संसदीय दलको नेता निर्वाचित भएका थिए । विसं २०५१ मा नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो कम्युनिस्ट सरकार विसं २०५२ मा ढलेपछि उनी पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए । विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री भएका देउवा २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन असक्षम भनी प्रधानमन्त्री पदबाट बर्खास्त भएका थिए ।

बर्खास्त भएको दुई वर्षपछि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट पुनः प्रधानमन्त्री बनाइएका नेता देउवा २०६१ माघ १९ गते प्रधानमन्त्री पदबाट बर्खास्ती भई नजरबन्दमा परेका थिए । राजा ज्ञानेन्द्रको यो कदमपछि संसदीय राजनीतिमा सक्रिय राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच सहकार्यको वातावरण बनेको थियो ।

विसं २०५९ जेठ ८ मा संसदीय दलको नेता एवम् प्रधानमन्त्री रहेका बेला नेता देउवाले संसद् विघटन गरेपछि काँग्रेस विभाजन भएको थियो । काँग्रेसको विभाजनपछि उनी नेपाली काँग्रेस प्रजातान्त्रिकको सभापति बनेका थिए । काँग्रेस र काँग्रेस प्रजातान्त्रिकको विसं २०६३ मा एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता भए ।

उनी विसं २०५६ मा काँग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले गठन गरेको माओवादी समस्या समाधान उच्चस्तरीय समितिका अध्यक्षसमेत थिए ।

प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेवि सङ्घका प्रथम सभापति हुन् र सुदूरपश्चिममा काँग्रेसका प्रभावशाली व्यक्तित्व मानिन्छन् ।

देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् । काँग्रेसको १३ औँ महाधिवेशनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति पदमा विजयी भएका थिए ।

यसअघि पार्टीको १०औँ महाधिवेशनमा नेता गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा नेता सुशील कोइरालाबाट समेत देउवा पार्टी सभापति पदमा पराजित भएका थिए ।

पार्टी संसदीय दलको नेतामा पनि विसं २०५६ नेता भट्टराईले राजीनामा दिएपछि तत्कालीन सभापति गिरिजाप्रसाद, पहिलो संविधानसभा निर्वाचनपछि तत्कालीन उपसभापति पौडेल र दोस्रो संविधानसभा निर्वाचनपछि सभापति सुशील कोइरालाबाट नेता देउवा पराजित भएका थिए ।