अब भरतपुरमै सबैभन्दा बढी पारदर्शी हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडौँ, जेठ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंगो देशको ध्यान भरतपुरमा भएको बताएका भन्दै यसपटकको निर्वाचनमा सबैभन्दा पारदर्शी परिणाम नै भरतपुरमा आउने बताएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेका दलका नेता केपी शर्मा ओलीलाई जवाफ दिँदै प्रधानमन्त्रीले यसपटक ‘दुःखद् घटना’ भएको कारण पनि भरतपुरमै पारदर्शी हुने दाबी गरेका हुन्।

भरतपुरको निर्वाचन र मतगणनाका विषयमा एमाले अध्यक्ष ओलीले प्रश्न उठाएपछि मंगलबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भरतपुरको घटनाका विषयमा आफूले दुःख व्यक्त गरेको र निर्वाचन आयोगलाई कानुन अनुसार काम कारबाही गर्न अनुरोध गरेको बताए।

उनले भरतपुरलाई अतिरञ्जित हिसाबले चर्चामा ल्याइएको भन्दै अब भरतपुरमा देशका अन्य क्षेत्रभन्दा पारदर्शी हुने बताए।

उनले भने, ‘सर्वोच्च अदालत, निर्वाचन आयोग, संसद, देशदेखि विदेशसम्मको आँखा भरतपुरमा छ, त्यसकारण अब भरतपुरमा जे हुन्छ त्यो बढी सबैभन्दा पारदर्शी हुन्छ।’