भरतपुरका निर्वाचन अधिकृतले भने  :‘छानविन समितिले के भन्छ, त्यही अनुसार गर्छौं’

 

चितवन, १५ जेठ । मतपत्र च्यातिएपछि भरतपुर महानगरको मतगणना स्थगित गरिएको छ। मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणनाको सहज वातावरण नभएको भन्दै गणना स्थगित गरिएको घोषणा गरेका छन्।

मत गन्न बाँकी रहेका दुई वडामध्ये १९ नम्बर वडाको मतगणना जारी रहँदा एउटा मत जहाँ चिन्हको घेराभन्दा बाहिर स्वस्तिक छाप थियो, बदर गर्ने कि नगर्ने भन्ने सामान्य विवादमा माओवादी केन्द्र र एमालेका एजेन्टबीच झडपको स्थिति पैदा भएपछि मतपत्र च्यातिएको थियो।

प्रहरीले मतपत्र च्यातेको अभियोगमा वाइसिएल चितवन जिल्ला अध्यक्ष मधु न्यौपाने र अर्का माओवादीका कार्यकर्ता द्रोण शिवाकोटीलार्इ पक्राउ गरेको छ। सोमबार राति २ बजेतिर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। नेकपा एमालेका कार्यकर्ता एवम् जिल्ला खेलकुद विकास समितिका सदस्य गंगा लामा पनि यही प्रकरणमा समातिएका छन्।

‘म शौचालय गएको थिएँ, त्यही बेला केही प्रवेश पास नभएका व्यक्तिहरु भित्र प्रवेश गरी मतपत्र च्याते,’ उनले भने, ‘गेटमा भएका प्रहरीले पनि उनीहरुलाई भित्र पस्नबाट रोक्न सकेनन्।’ उनले घटना छानविन समिति गठन गरिने बताए। ‘छानविन टोलीले के भन्छ, त्यसपछि मात्र के गर्ने भन्ने निर्णय गरिनेछ’, उनले भने।

यसैबीच, नेकपा एमाले मेयरका उम्मेदवार देवी ज्ञवालीले ‘माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातिएको’ दाबी गरेका छन्। उनले प्रहरीले पूर्वसूचना पाएर पनि यो घटना हुनबाट जोगाउन नसकेको आरोप पनि लगाए।

तर काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठले भने, आफूले मतगणनास्थलमा एमालेका प्रतिनिधिले समस्या सृजना गरेको सूचना पाएको दाबी गरे। उनले भने, ‘मतगणना राम्ररी भइरहेको थियो, १९ नम्बर वडामा कांग्रेसको राम्रो मत आइरहेको थियो तर तनावको अवस्था सृजना गरियो।’