धार–धारमा भरतपुर–नतिजा अझै पनि, गणनामा देवीले मतान्तर बढाए

 
चितवन, १२ जेठ । भरतपुर महानगरको पछिल्लो मतगणनामा पुनः एमाले मेयर उम्मेदवार देवी ज्ञवाली अघि बढिरहेका छन्। केही दिनदेखि माओवादी उम्मेदवार रेणु दाहालले घटाइरहेको अन्तरलाई फेरि ज्ञवालीले सुस्त गतिमा बढाउन थालेका छन्।

भरतपुरमा पछिल्लो पटक गनिएको १६ नम्बर वडामा दुई उम्मेदवारबीचको मतान्तर १५४९ पुगेको छ। ज्ञवालीले दाहालको भन्दा १५४९ मत बढी हासिल गरेका हुन्।

१६ नम्बर वडामा मात्रै देवीले १५० मत बढी पाएका थिए। बुधबार र बिहीबारको गणनामा रेणुको गति छिटो र देवीको गति ढिलो भएको थियो।

अहिले देवीको ३४ हजार ४ सय ९१ मत पुगेको छ भने रेणुको ३२ हजार ९ सय ४२ मत पुगेको छ।

पोखरा र ललितपुर दुई महानगरको नतिजा क्रमशः एमाले र कांग्रेसको पोल्टामा परिसकेको छ। राजधानी काठमाडौं महानगरको मतअग्रताले यहाँ एमाले उम्मेदवार विद्यासुन्दर शाक्यको विजय घोषणा अन्तिमतिर पुगेको छ।

भरतपुरमा खिचिएको धेरैको ध्यान भने अझै पनि ‘के होला, के होला’मै छ।

मतगणनाको उत्तरार्धतिर रेणुले बढाइरहेको मतका आधारमा एमाले पछि पर्न सक्ने केही अनुमानहरु सुरु भएका थिए। तर शुक्रबारदेखि फेरि देवीले बढाएको मतान्तरले देवीलाई पछि पार्नु कठिन हुने देखिएको छ।

एमालेले आफ्नो अग्रता कायमै भएकाले देवी ज्ञवालीको जीत सुनिश्चित भएको ठानिरहेको छ। तालमेल गरेको दुई प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रका समर्थहरु पनि उत्तरार्धमा रेणुले नै अग्रता लिने आशा गर्न छाडेका छैनन्।

अघिल्लो दिनसम्म मतान्तर घटेर १३ सय ३७ सम्म आइपुगेको थियो। तर अहिले दुई सय हाराहारी मतान्तरमा बढेको छ।

त्यसो त कांग्रेस–माओवादीले एमालेको गढ मानिएको १६ नम्बर वडामा देवीको अग्रता निकै कम भएको बताएका छन्। यो वडामा एमालेले झण्डै एक हजार मतले अग्रता लिने अनुमान एमालेको भएको बताइन्छ। यसमा देवीले जम्मा १५० मत मात्रै बढी आएको थियो।

पहिलो चरणको स्थानीय तहमा सबैभन्दा धेरै ध्यानाकर्षण भएका मध्ये भरतपुर महानगरको नतिजा अझै धार–धारमा रहेको छ।