रेणु र देवीबीच १२ सय ३५ मतान्तर, ‘बेनिफिट अफ डाउट’

राजेन्द्र आचार्य
चितवन, ११ जेठ । क्रिकेट खेलमा बेनिफिट अफ डाउट ब्याट्सम्यानले पाउँछन्। अर्थात् बलरले कुनै क्रिजमा टिकेर ब्याटिङ गरिरहेका ब्याट्सम्यानलाई आउट गरेको शंका लागेर चेक गर्दा निर्णयमा पुग्न रेफ्रीलाई असहज भए फाइदा ब्याट्सम्यानलाई हुन्छ।

चितवनको भरतपुर महानगरमा जारी स्थानीय तहको मतगणना पनि क्रिकेट खेल झैँ रोमाञ्चक छ। क्रिजमा टिकेर ब्याटसम्यानले रन बटुले जस्दै एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल मत बटुलिरहेका छन्।

दश दिनदेखि जारी मतगणनामा अग्रता देवी ज्ञवालीले लिइरहेका छन्। तर पछिल्लो समय रेणु फर्ममा फर्किएकी छिन्। उनले आक्रामक गतिमा मत बटुलिरहेकी छिन्।

कुनै समय चार हजार मतको अन्तर पुर्‍याएका देवीसँग रेणुले १२ सय ३५ मतअन्तरमा ल्याएकी छिन्। वडा नं १५ बाट मात्रै उनले देवीभन्दा दोब्बर मत ल्याएकी छिन्। एमालेले १६ सय हाराहारी मत पाएको देखिन्छ जबकि रेणुले झण्डै दोब्बर ३३ सय हाराहारी मत ल्याएकी छिन्।

भरतपुर महानगरपालिका अब २९ हजार ७ सय मत गणना बाँकी छ। यदि वडा नं १५ कै जस्तो मत प्राप्त गरिन् भने रेणुले जित्ने देखिन्छ। अर्थात् ब्याट्सम्यान क्रिजमा टिकेर अन्तिममा आक्रामक पारी खेले जस्तै रेणुले आक्रामक मत बटुलिरहेकी छिन्। हाल रेणुको मत ३१ हजार २ सय ६७ मत छ भने देवी ज्ञवालीको मत ३२ हजार ५ सय २ छ।

औसत हिसाब गर्ने हो भने अब हरेक वडामा मात्र १ सय ३७ मतको अग्रता लिए मात्र पनि रेणुले जित्नेछिन्। तर सबै वडामा उनको अग्रता आउने सम्भावना छैन। गणना गर्न बाँकी ९ वटा वडा मध्ये २३, २४, १६ र १८ मा एमालेका देवी ज्ञवालीको राम्रो पकड छ। बाँकी वडा १७, १९, २१, २२ मा कांग्रेसको राम्रो पकड रहेकोले रेणुलाई बढी आशा छ।

यस्तो छ गन्न बाँकी वडाहरुमा रहेका मत-
वडा नम्बर १६ (ड्डाघारी,मंगलपुर वरपर) – ७२३
वडा नम्बर १७ (रामपुर गोब्रेनी वरपर) – ३०८७
वडा नम्बर १८ (चनौली गुन्जनगर वरपर) – ३५६८
वडा नम्बर १९ (गुन्जनगर/शारदानगरको बाकी) – २८६०
वडा नम्बर २० (भिमनगर,दद्रेनी वरपर) – ३३०२
वडा नम्बर २१ (पार्वतिपुर,मनिपुर वरपर) – ३५६८
वडा नम्बर २२ (धनौजी ,परमपोखरी वरपर) – २८५२
वडा नम्बर २३ (खड्गौली मधुपुरी) – २९८९
वडा नम्बर २४ (केरुगां जगतपुर) – १७५९

कूल गन्न बाँकी – २९७०८