‘बाँदरमुढे बिर्सेर जनताले मलाई मत दिए’, माडीका मेयर ढकाल भन्छन्: जीतमा खुशीभन्दा भविष्यको चुनौती सम्झिरहेछु

चितवन, जेठ ६ । चितवनका दुई नगर यसपालिको स्थानीय निर्वाचनको सबैभन्दा बढी चासोमा छन्। पहिलो भरतपुर र दोस्रो माडी। भरतपुरले रेणु दाहालको उम्मेदवारी र कांग्रेस-माओवादी केन्द्रको तालमेलका कारण सबैभन्दा बढी ध्यान खिच्यो भने माडीले युद्धकालीन बाँदरमुढे घटनाका कारण।

भरतपुरको नतिजा आउन बाँकी नै छ, जिज्ञासा पनि बाँकी नै छन्। तर माडी नगरमा माओवादी केन्द्रका उम्मेदवार ठाकुर ढकाल मेयरमा विजयी भएका छन्। र, धेरैका धेरै थरि अनुमान दूर भएका छन्।

सार्वजनिक बसमा विष्फोटन भएर सर्वसाधरणको समेत ज्यान गएको बाँदरमुढे घटनालाई माओवादीका आलोचकहरुले शान्ति सम्झौताको एक दशकपछि पनि ‘राजनीतिक मसला’ बनाउन छाडेका थिएनन्। त्यो ‘मसला’ यसपालिको स्थानीय तह निर्वाचनमा पनि फेरि चर्चामा आइपुग्यो।

‘बाँदरमुढे घटना बिर्सेर माडीबासी जनताले माओवादीलाई मत कसरी देलान्?’ भन्ने प्रश्न एकथरीले सामाजिक सञ्जालहरुमा प्रचार गरिरहे।

तर मत परिणामले माओवादीकै उम्मेदवारलाई पहिलो मत दियो। उनले ३ हजार ८ सय ७३ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खेमप्रसाद महत्तोले ३ हजार ८ सय २९ मत पाए। तेस्रो स्थानमा एमालेका नारदमणि पौडेलले ३ हजार ८ सय २६ र राप्रपाका मदन पौडेलले ३ हजार ७३ मत पाए। संसदमा प्रतिनिधित्व गर्ने चार प्रमुख दलहरुको सबैभन्दा कडा प्रतिस्पर्धा माडीमै देखिएको छ।

तीसको दशकको सुरुदेखि सक्रिय राजनीतिमा लागेका ढकाल माडीमै क्रियाशील पुराना र लोकप्रिय नेता मानिन्छन्।

मेयरमा चुनिएपछि नेता ढकालले आफ्नो जीतलाई माडीका जनताको अभिलाषा र सपनासँग जोडे। उनले भने, ‘मेरो जीतले मनमा जति खुशी ल्याएको छ, त्यति नै दिमागमा भविष्यका चुनौतीहरु पनि आइरहेका छन्।’

ढकालले निर्वाचनअघि नै माडीको विकासका जटिलतालाई आफूले सम्बोधन गर्दै जाने संकल्प गरेका छन्। खानेपानी, तटबन्ध, नगरपालिकाको आर्थिक विकास, गुणस्तरीय शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा आफूले काम गर्ने उनले बताए।

ढकाल अरु नेताले जस्तै आर्थिक विकास र समृद्धिको मात्रै कुरा गर्दैनन्। विगतका जनप्रतिनिधहरुको कार्यशैलीबाट वाक्क परेका जनताबीच आफूले काम गर्ने तरिका र प्रक्रिया नै नयाँ गर्न सके मात्रै सफल हुने उनको बुझाइ छ। ‘जनताको विश्वास टुट्न नदिऔं भन्ने मुख्य चिन्तनका साथ काम गर्नुपर्छ भन्ने सोचेको छु,’ ढकाल भन्छन्।

 

 

विरोधी दल र आलोचकहरुले बाँदरमुढे घटनाको सन्दर्भ निकालेर माओवादी पार्टीलाई नकारात्मक रुपमा चित्रण गरिरहेको कुराबाट उनी अनभिज्ञ हुने कुरै भएन। यसबारे उनी के सोच्दैछन् त?

‘त्यो गल्तीले हुन गएको दुर्भाग्यपूर्ण घटना हो,’ ढकाल भन्छन्, ‘अब जनताले त्यो घटनालाई बारम्बार सम्झन र उचाल्न चाहँदैनन्। नत्र माओवादीलाई किन विश्वास गर्थे?’ उनको बुझाइमा जनताका तहमा बाँदरमुढे घटनाको तुस बाँकी छैन।

त्यो घाउ निको पार्न र त्यसबाट पाठ सिक्न बाँदरमुढेका लागि केही गर्नुपर्छ भन्ने उनको योजना छ।

उनले यसबीचमा बाँदरमुढेका जनतासँग प्रत्यक्ष भेट पनि गरिसकेका छन्। घाइते, अपाङ्ग जनतासँग पनि भेटिसके। ‘मैले उनीहरुका माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छु। उनीहरुलाई भत्ता होइन, दीर्घकालीन जीविकोपार्जनतिर केही गर्नुपर्छ। नगरपालिका ऐन बनेपछि रोजगारीको व्यवस्था गर्छौं।’

उनले समग्र विकासका लागि तीन विगाहा जमिनमा बाँदरमुढे स्मारक बाटिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। माडीलाई पर्यटकीय महत्वको क्षेत्र बनाउने पनि उनको योजना छ। भन्छन्, ‘हामी इमान्दार नभएको भए हाम्रो गल्तीलाई यसरी स्मारक नै बनाएर प्रचार गरिन्नथ्यो होला। अब बाँदरमुढेको समग्र विकासका लागि पनि उनीहरुसँगै बसेर योजना बनाएर अगाडि बढिन्छ।’