जैविक विविधता दिवसमा करिब २ कन्टेनर अखेटोपहार नष्ट गरिने, प्रधानमन्त्रीसहित संरक्षकर्मीहरु सहभागी हुने

चितवन, जेठ ६ । चितवनमा लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तुका अखेटोपहार नष्ट गरिने भएको छ । वन कार्यालय र राष्ट्रिय निकुञ्जले समातेको करिब २ कन्टेनर अखेटोपहार नष्ट गर्न लागिएको वन कार्यालयका जिल्ला वन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए ।
अखेटोपहार नष्ट गर्ने विषयमा शुक्रबार वन विभागका महानिर्देशक मनोहर खड्काको संयोजकत्वमा वन कार्यालयमा छलफल गरिएको हो । जेठ ८ गते जैविक विविधता दिवसको अवसरमा चितवनको कसरामा नष्ट गरिने कार्यक्रममा प्रधानमन्त्रि प्रचण्डको उपस्थिति रहने जिल्ला वन कार्यालयले जनाएको छ ।


वन कार्यालयबाट समातिएका अखेटोपहार शसस्त्र बन रक्षक तालिम केन्द्र टिकौलि र राष्ट्रिय निकुञ्जबाट समातिएका अखेटोपहार कसरामा राखिएको छ । अखेटोपहार नष्ट गर्ने कार्यक्रममा प्रधानमन्त्रि प्रचण्ड, विभिन्न देशका राजदुतहरु, अन्तराष्ट्रिय मिडिया जियोग्राफि च्यानल र राष्ट्रिय मिडियाहरुको उपस्थितिमा रहने वन अधिकृत पौडेलले जानकारी दिए ।
अन्तराष्ट्रिय सन्धि अनुसार सरकारले अखेटोपहार बेचेर राजस्व संकलन गर्न नपाउने नियम रहेको छ । नष्ट गर्नका लागि २०७२ सालमा राष्ट्रिय निकुञ्ज विभागबाट समुह गठन भएको छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक र वन विभागका महानिर्देशक सहितको संयोजकत्वमा समुह गठन गरिएको हो ।
अखेटोपहार नष्ट गर्ने विषयमा भएको छलफल कार्यक्रममा डब्लु.डब्लु.एफ. नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, वन कार्यालय र निकुञ्ज कार्यालयका संरक्षणकर्मीहरुको सहभागिता रहेको थियो ।
चितवनमा केन्द्रिय अनसन्धान व्युरोको समेत सहभागितामा २ कन्टेनर अखेटोपहार समातिएर राखिएको हो । यसअघि २०५४ सालमा संकलित अखेटोपहार नष्ट गरिएको थियो ।

कति छन् अखेटोपहार ?

प्रतिवेदनअनुसार चितवनमा तीन सय ६९ थान गैंडाको खाग छन् भने र सामान्य सडेगलेको चार हजार सात सय ८२ वटा गैंडाको खुर छ ।

बाघको छाला ६९ थान, चितुवाको छाला सामान्य सडेगलेको चार सय ९३ वटा, हिउँ चितुवाको छाला तीन थान, हात्तीको दारा एक सय ८५ थान छ ।

यस्तै कस्तुरीको विना ३६ थान, सालकको खपडा तीन सय ५२ किलोग्राम रहेको पाईएको छ । ती अखेटोपहारमध्ये केही सुरक्षित राख्नेपर्ने, केही मुद्दा परेकाले बैज्ञानिक अनुसन्धान गर्नुपर्ने र नमूनाका लागि सुरक्षित राख्नुपर्नेबाहेक सबै नष्ट गर्नुपर्ने टोलीको प्रतिवेदनमा उल्लेख छ ।

मुद्दामा चिरुको रौं, २ वटा गैंडाको खाग परेका छन् । तिनलाई तत्काल नष्ट गरिने छैन । वैज्ञानिक अनुसन्धानका लागि पाटेबाघ तथा चितुवाको खप्पर भएको दाह्रा, स्तनधारी वन्यजन्तुका रौं, जरायो चित्तल, घोरल, रतुवा कृष्णसार लगायतको सिङसहितको खप्पर, पाटेबाघ र चितुवाको नंग्रा, हात्तीको पुच्छरका रौँ सुरक्षित राख्नुपर्ने समितिको सिफारिस प्रतिवेदनमा उल्लेख छ ।

यस्तै नमुना सुरक्षित राख्नुपर्नेमा गैंडाको खाग ४ थान, हात्तीका दारा ४, दाात सहितको बाघको खप्पर, बाघ र चितुवाको प्रसोधित छाला ४ थान, गैंडाको खुर २ थान, अजिंगर हुाडार, ओत, निगाले बाघ लगायतका छाला पनि नमुनाका लागि राख्न सिफारिस गरिएको छ ।