माडी १ मा विकासको लहर ल्याउने वडाध्यक्षको प्रतिवद्धता

माडी, जेठ ५ गते । माडी वडा नम्बर १ मा कांग्रेसका तर्फबाट वडाध्यक्षमा विजयी भएका कृष्ण पौडेलले समानुपातिक विकासको अवधारणा कार्यान्वयन गराउन लागिपर्ने बताएका छन् । माडी बरुवामा आयोजित कोणसभामा बोल्दै उनले माडी वडा नम्बर १ मा सरकारी कार्यालय स्थापना गराउन लागिपर्ने प्रतिवद्धता जनाएका छन् । स्नातकोत्तर उर्तिण गरेका उनी माडीमा सफल बस व्यवसायी समेत हुन् ।
“बाँदरझुलाका बरुवा आउने, बरुवाका स्थानीय बाँदरझुला जाने गरि विकासका कार्यक्रम चलायमान गराउनुपर्छ”, उनले भने, “माडीको कुनै एक विशेष ठाउँलाई लक्षित गरी विकास गर्दा माडी विकासमा पछि परेको हो ।”

भरतपुरबाट निकुञ्ज पार भएलगत्तै आउने वडा भएपनि सरकारी संरचना सबै अन्यत्र स्थापना गर्दा वडा नम्बर १ विकासमा पछि परेको बताए । माडीमा सबै सरकारी कार्यालय, अस्पताल, बैंक तथा वित्तिय कार्यालय बसन्तपुर केन्द्रीत छन् । उनले बरुवा बजारलाई व्यवस्थित बजारका रुपमा विकास गर्न पहल गर्ने बताएका छन् । पाण्डवनगर देखि भंगतासम्मको वन नजिकका वस्तीलाई सडक सञ्जालले जोडेर पर्यटकीय स्थलका रुपमा विकास गरिने बताए । वाल्मीकि आश्रम देखि गोद्धकसम्म पर्ययकीय पदमार्ग विकास गर्न निकुञ्जसँग पहल गर्ने बताए ।
साविकका ६ वडा मिलेर बनेको हालको वडा नम्बर १ लाई माडीकै नमूना वडा बनाउन पहल गर्ने उनको भनाई छ । एम्बुलेन्स सेवा तथा साविकका वडामा कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन, सिँचाई सेवा, यूवा क्लब गठन, वृद्धाश्रम निर्माण जस्ता काम गर्न लागिपर्ने बताए ।

उनी माडीमा यातायात क्षेत्रमा फैलिएको विकृति हटाउन स्थानीयको पहलमा साविक माडी यातायात प्राली दर्ता गरी बस सेवा सञ्चालन गर्न महासचिवका रुपमा काम गरेका थिए । हाल उनी माडी ठोरी यातायात उपसमितका आर्थिक संयोजक हुन् ।

रोजगारीका शिलशिलामा ६ वर्ष नर्वे बसेर आएका उनले भने, “आफ्नै गाउँ ठाउँमा रोजगकारका अवसर सृजना गर्न लागिपर्छु, यूवाकै सहभागितामा विकासको लहर भित्र्याउँछु । माडी नगरपालिकामा वडा नम्बर १ मा कांग्रेसबाट हिमादेवी पौडेल, शिव कार्की विजयी भएका थिए ।

अन्य वडा सदस्यमा ६ मतको अन्तरले राप्रपाबाट अमित लामा र २ मतको अन्तरले माओवादी केन्द्रबाट गिता परियार विजयी भएका छन् । माडी नगरपालिकाका अन्य वडा तहमा कांग्रेसका उम्मेद्वार पराजित भएका छन् । माडी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल, उपमेयरमा एमालेका तारा काजीमहतो विजयी बनेका छन् ।