नेपाली सेनाका दुई रथीको म्याद थप, थापा प्रधानसेनापति बन्ने निश्चित

 
काठमाण्डौ, ४ जेठ ।  नेपाली सेनाका दुई रथी (लेफ्टिनेन्ट जनरल)को म्याद थप भएको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले बलाधिकृत रथी बलदेवराज महत र बलाध्यक्षरथी पुर्णचन्द्र थापाको म्याद थप्ने निर्णय गरेको हो । प्रधानसेनापति राजेन्द्र क्षेत्रीको सिफारिसमा सरकारले महत र थापाको म्याद थप गरेको हो ।

म्याद नथपिएको भए रथीको दुई वर्षे पदावधिका कारण महत आगामी साउन ८ मा अवकास पाउँदै थिए । सैनिक ऐनमा उमेर हद ९५८ वर्ष० बाँकी रहेको खण्डमा प्रधानसेनापतिको सिफारिसमा सरकारले रथीको पदावधि थप गर्न सक्ने प्रावधान छ ।

महतको पदावधि तीन महिना थप भएको हो । तीन महिना पदावधि थप भएसँगै महतले अब आगामी १६ कात्तिकमा अवकास पाउनेछन् । अर्का रथी थापाको दुई वर्षे पदावधि असोज १५ मा सकिँदै थियो । थापाको भने पदावधि एक वर्ष थप भएको छ ।

यो सँगै थापा नेपाली सेनाको भावी प्रधानसेनापति बन्ने करिब निश्चितजस्तै छ । हालका प्रधानसेनापति क्षेत्रीले २०७५ भदौ २४ मा अनिवार्य अवकाश पाएसँगै थापाले सैनिक नेतृत्व सम्हाल्ने छन् ।