भरतपुर महानगरको मतगणना २ बजेबाट

 

चितवन, ०१ जेठ । भरतपुर महानगरपालिकामा मतगणनाको प्रकृया दिउसो २ बजोबाट हुनेछ ।
विहान ८ बजे सर्वदलीय बैठक बस्ने तयारी गरिएपनि प्राविधिक तयारी पुरा नभएका कारण सर्वदलीय बैठक साढे ९ बजेपछि मात्रै बसेको बैठक १२ बजे २० मिनेट पछि अन्तिम निर्णय गर्दै २ बजे गर्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट्ले जानकारी दिए ।

लामो समयसम्म मतगणना कसरी भन्ने कुरा नमिलेपछि समय फेरि एक पटक सारेर २ बजे तय गरिएको हो । भरतपुर स्थ्ति कवर्डहलमा मतगणना गरिने छ ।
मतपेटिका संकलन कार्य राति अबेरसम्म चलेकाले मतगणना आजका लागि तय गरिएको थियो ।
कालिका नगरपालिकामा भने चट्याङका कारण वडा नम्बर ११ का उम्मेदवारको मृत्यु भई नयाँ उम्मेदवार आएकाले २ गतेको मतदानपछि मात्रै मतगणना हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा चितवन जिल्लामा ७७ दशमलव ०३ प्रतिशत मतदान भएको छ । जिल्लामा कुल ३ लाख १३ हजार २ मतदाता मध्य २ लाख ४१ हजार १ सय २९ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानाकारी दिए । उनका अनुसार यो कुल मतदाताको ७७ दशमलव ०३ प्रतिशत हो ।
भरतपुर महानगरमा मेयर पदमा १४ जना, उपमेयर पदमा ११ जना छन् । इच्छाकामना गाउँपालिका प्रमुखमा ५ जना, उपप्रमुखमा ३ जना छन् ।

यस्तै माडी नगरपालिकाको मेयरमा ८ जना, उपमेयरमा ६ जना, खैरहनी नगरपालिकामा ११ जना मेयरमा, ९ जना उपमेयरमा छन् । यस्तै रत्ननगर नगरपालिकामा १२ जना मेयरमा, १० जना उपमेयरमा, राप्तीमा नगरपालिकामा १० जना मेयरमा, ७ जना उपमेयरमा उम्मेद्वारी दिएका छन् ।