नेपाली सेनाद्वारा बम निस्कृय

आनन्द पोखरेल
चितवन, ३० बैशाख
चितवनको भरतपुरमा नेपाली सेनाको बम डिस्पाेजल टिमले ‘होक्सा प्रेसर कुकर बम’ निस्कृय पारेको छ । बोरामा बेरेर राखिएको नेपाली काँग्रेसको भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको चुनावी प्रचार प्रसार सचिवालय अगाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निस्कृय पारेको हो ।

शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेकपछि बम डिस्पाेजका लागि नेपाली सेनाको विशेष टोली पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले बताए । भरतपुरमा रहेको दि फेमस महेन्द्र दल गणबाट खटिएको बम डिस्पाेजल टोलीले करिब साढे दुई घण्टा लगाएर बम डिस्पाेज गरेको हो । साढे दुई लिटरको प्रेसर कुकर भित्र केही ढुंगा र तार रहेकोमा उक्त नक्कली बम निस्कृय पारिएको थापाको भनाइ छ ।
बम कसले राखेको भन्ने जानकारी नभएपनि नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहले राखेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । प्रहरीले स्थानीय चुनावलाई भयरहित तरिकाले सम्पन्न गराउनको लागि अप्रेसन स्वीप सञ्चालन गरेको छ । हालसम्म विप्लबका एरिया कमाण्डर सहित चितवन प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ ।