मापसे गर्नेले भोट दिन पाउँदैनन्, मतदान केन्द्र वरपर मदिरा बेचे वा पिए २५ हजार जरिवाना

 

काठमाडौँ,  २९ वैशाख । आइतबार हुने स्थानीय तहको निर्वाचनका लागि हुने मतदानमा मतदाता सूचीमा नाम छ भने पनि तपाईँले भोट दिन नपाउने हुनसक्छ। यसको एउटा कारण हुनसक्छ- मापसे (मादक पदार्थ सेवन)।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३६ को उपदफा २ अनुसार मदिरा सेवन गरेको व्यक्तिलाई मतदान केन्द्रमा प्रवेश निधेष गरिएको छ।
ऐनमा भनिएको छ, ‘कुनै प्रकारको हतियार साथ लिएको वा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए तापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश दिने छैन।’

त्यसैगरी निर्वाचन अधिकृतको कार्यालयले वैशाख २८ गतेदेखि मतदान केन्द्र वरपरको क्षेत्रमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरेको छ।

यसलाई उल्लङ्घन गरे २५ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ।