यि हुन् चितवनका चार सञ्चारकर्मी, जो चुनावी मैदानमा छन्

 

सन्तकुमार चौधरी
चितवन, २६ बैशाख । बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा चितवनका चारजना सञ्चारकर्मी चुनावी मैदानमा छन् । ती मध्ये तीनजना महिला छन् ।

माडी नगरपालिकामा माओवादी केन्द्रले पत्रकार सरिता महतोलाई उपमेयर पदमा उम्मेदवार बनाएको छ । थारु समुदायको समेत प्रनिनिधित्व हुने गरी उहाँलाई माओवादी केन्द्रले उपमेयरको उम्मेदवार बनाएको हो ।

महतो रेडियो माडीको कार्यक्रम संयोजक भएर झण्डै पाँचवर्षसम्म काम गर्नु भएको थियो । माडी साप्ताहिकको सह–सम्पादकसमेत महतो प्रेस सेन्टर नेपाल चितवनको सह–सचिव, फोनिज चितवनको कार्य समिति सदस्य र पत्रकार महासंघ चितवन शाखाको साधारण सदस्य हुनुहुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले कालिका एमफएमकी स्टेशन म्यानेजर रीना गुरुङलाई भरतपुर महानगरपालिकाको उपमेयर पदको उम्मेदवार बनाएको छ ।

उनलाई जनजाति समुदायको समेत प्रतिनिधित्व हुने गरी राष्ट्रिय प्रजातन्त्र पार्टीले उपमेयर पदका उम्मेदवार बनाएको हो । कालिका एफएममा लामो समयदेखि स्टेशन म्यानेजरकी रुपमा कार्यरत रीनालाई पनि अहिले मतदाताको घरमा पुगेर मत माग्न भ्याईनभ्याई छ ।

यसैगरी पुराना पत्रकार खोमकान्त रेग्मी पनि भरतपुर महानगरपालिकाको वडा नं। ३ मा वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार रेग्मी पत्रकार महासंघ शाखामा स्थापनाकालदेखि क्रियाशील हुनुहुन्छ । उहाँ प्रेस चौतारी चितवनका सल्लाहकार पनि हुनुहुन्छ ।

यसैगरी रेडियो चितवनमा कार्यरत संचारकर्मी सरस्वती लामा पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँ पूर्वी चितवनस्थित रत्ननगर नगरपालिकाको वडा नं। ९ को वडा सदस्यको रुपमा उम्मेदवार बन्नु भएको छ । उहाँ पनि नेकपा एमालेका तर्फवाट उम्मेदवार बन्नु भएको हो ।