नवलपरासीका ३४५ विद्यालयमा पुस्तकालय स्थापना

 

नवलपरासी, २५ बैशाख । नवलपरासीका विभिन्न ४० विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । सोमबारसम्म विजय विकास स्रोत केन्द्रले रुम टु रीडसँगको साझेदारीमा यी विद्यालयमा पुस्तकालय स्थापना गरेको हो ।

विजय विकास स्रोत केन्द्रले सन् २००७ देखि जिल्लामा सामुदायिक विद्यालयहरुमा पुस्तकालय स्थापना गरी बालबालिकाहरुको पढ्ने सीप र बानीको बिकासमा सहयोग गर्दै आइरहेको छ । हाल सम्म जिल्लाका ३४५ विद्यालयहरुमा पुस्तकालय स्थापना गरी सञ्चालनमा आइसकेका छन ।

यस बर्ष सोमबार सम्म थप ४० विद्यालयहरुमा पुस्तकालय स्थापना भएपछि पुस्तकालय स्थापना भएका विद्यालयको सङ्ख्या ३४५ पुगेको केन्द्रका साक्षरता कार्यक्रमका संयोजक हरिप्रसाद आचार्यले जानकारी दिनुभयो । यसअघि ३०५ विद्यालयमा पुस्तकालय स्थापना भईसकेका थिए ।

विद्यालयमा स्थापना भएको पुस्तकालयले प्रत्येक विद्यार्थीहरुमा पढ्ने बानीको विकास भएको विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाले बताउनुभयो । केन्द्रले जिल्ला शिक्षा कार्यालयसँगको समन्वयनमा विद्यालय छनौट पछि पुस्तक, फर्निचरका सम्पूर्ण सामग्री तथा तालिम उपल्बध गराउँदै आएको छ ।