राप्ती नपामा चेपाङ समुदायको विकासको लागि माओवादी केन्द्रको जित आवश्यक

 

चितवन, २४ बैशाख । स्थानीय तहको निर्वाचनको लागि भोट माग्न राप्ती नगरपालिकामा माओवादी केन्द्रले विभिन्न ठाउँमा घरदैलो र चुनावी सभा गरेको छ । मेयर पदका उम्मेदवार रामचन्द्र पाठक,उपमेयर पदकी उम्मेदवार कल्पना लामा मोक्तान सहित नेता तथा कार्यकर्ताहरुले विभिन्न तीन वटा वडामा घरदैलो र कोडसभा गरेका हुन ।

राप्ती नगरपालिका ३ मा घरदैलो, वडा नं.१० को समिटारमा घरदैलो र चुनावी सभा,वडा नं.११ को आँपपानीमा घरदैलो र चुनावी सभा गरिएको हो । चुनावी सभामा बोल्दै मेयर पदका उम्मेदवार पाठकले पहाडी क्षेत्रका सिमान्तकृत चेपाङ समुदायको विकासको लागि माओवादी केन्द्रको जित आवश्यक रहेको बताए ।

राप्तीमा आफुले जित हासिल गर्न सके विकास निर्माणसंग सामाजिक तथा आर्थिक रुपले पछाडी परेका समुदायको शशक्तिकरणका लागि काम गर्ने बताए । उनले जनताको आधारभूत आवश्यकतासंग शिक्षा,स्वास्थ्य र खानेपानीको विषयमा जनतालाई अधिकार सम्पन्न बनाउने प्रतिबद्धता जनाए ।

वडा नं.३ मा वडा अध्यक्षका उम्मेदवार रामबहादुर राई लगायत सदस्यका उम्मेदवारहरु,वडा नं.१० मा भरत चेपाङ सहित सदस्यका उम्मेदवारहरु र वडा नं.११ मा सोमिलाल मोक्तान सहित सदस्यहरु सहित घरदैलो र चुनावी सभा गरिएको थियो । सभामा जिल्ला कार्यालय सदस्य प्रकाश खनाल शैलेशले पनि मन्तव्य राखेका थिए ।