चितवनका ८४ ‘डन’ प्रहरी निगरानीमा

आनन्द पोखरेल
चितवन, २४ बैशाख । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चितवन प्रहरीले ८४ जना ‘गुण्डा नाइके’लाई निगरानीमा राखेको जनाएको छ । उनीहरुले निर्वाचनमा प्रभाव पार्न सक्ने भन्दै निगरानी गरिएको प्रहरीले जनाएको हो ।
चितवनमा रहेका ‘गुण्डा’हरुको सक्रियताको आधारमा उनीहरुलाई सूचिकृत गर्दै प्रहरीले विशेष निगरानी सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

८४ जना गुण्डाहरुको सूचिमध्ये सबै पुराना रहेका र यस अगाडि कुनै न कुनै अपराधिक क्रियाकलापमा संलग्न रहेर सजाय भोगिसकेका व्यक्ति रहेका श्रेष्ठले बताउनुभयो ।

गत मंसिरमा चितवनको प्रहरी प्रमुखको जिम्मेवारी लिएर प्रहरी उपरीक्षक दिपक थापा आएपछि हालसम्म विभिन्न घटनामा संलग्न रहेका एक सय ७८ जना गुण्डालाई कारबाही गरिसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुण्डाहरुलाई सार्वजनिक तथा सांगठनिक अपराध अन्गर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।