कारागार सुरक्षामा सेना

आनन्द पोखरेल

चितवन, २४ बैशाख । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचलनलाई लक्षित गर्दै चितवनमा कारागार सुरक्षाको लागि नेपाली सेनालाई खटाइएको छ । नेपाल प्रहरीलाई चुनावी सुरक्षामा खटाइएपछि उक्त स्थानमा नेपाली सेनालाई राखिएको हो ।

जिल्ला स्थित सुरक्षा समितिको निर्णय अनुसार कारागार सुरक्षाका लागि नेपाली सेना खटाइएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिए । निर्वाचन अवधिभरी सेनाले कारागारको सुरक्षा गर्ने भट्टले बताए । सेनालाई कारागारको सुरक्षाको लागि कहिलेसम्म खटाउने भन्ने बारे तय नभएको प्रजिअ भट्टको भनाइ छ ।

कारागार कार्यालय भरतपुरको सुरक्षाका लागि दि फेमस महेन्द्र दल गण भरतपुरबाट उप सेनानी (लप्टन)को नेतृत्वमा २५ जना नेपाली सेना परिचालन गरिएको छ । सेनालाई कारागारको आन्तरिक सुरक्षाको जिम्मा दिइएको जेलर कमलकान्त काफ्लेले जानकारी दिए ।

भरतपुर कारागारमा पाँच सय आठ पुरु, ५७ महिला कैदीबन्दी तथा तीन जना आश्रित बालबालिका सहित जम्मा पाँच सय ६८ जना कैदीबन्दी रहेका छन् ।