महानगरको विकास र सम्वृद्धिका लागि अर्जुन दृष्टि आवस्यक : रेणु दाहाल

चितवन २३ बैशाख । नेकपा (माओवादी केन्द्र)को तर्फवाट भरतपुर महानगरपालिकाको मेयर पदकी उमेद्वार रेणु दाहालले महानगरको विकास र सम्वृद्धिको लागि अर्जुन दृष्टि आवस्यक भएको बताएकी छन् ।
नेपाली काँग्रेस संग तालमेल पछि महानगरका विभिन्न वडाहरुमा आफ्नो चुनावी प्रचारको लागि घरदैलो अभियानमा पुगेकी दाहालले उम्मेद्वार बन्दा र अहिलेको अवस्था फरक भएको बताइन् । आफु नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेद्वारी दर्ता गरेको भएपनि अव सबै नगरवासीहरुको साझा उम्मेद्वार बनेको दाबी गरिन् । भरतपुर नेपालको एक मात्र नमूना महानगर बन्ने दाबी गर्दै माओवादी केन्द्र र नेपाली काँग्रेस विचको तालमेलले आम नगरवासी उत्साहित भएको आफुले पाएको बताइन् । उनले अव विगतमा के भए भन्ने भन्दा पनि हाम्रो अगाडीको गन्तव्य के हो भन्ने खोजी गरि महानगरको सम्बृद्धि र विकासमा अर्जुन दृष्टि आवस्यक भएको बताइन् ।

अघिल्लो दिन सम्म माओवादी केन्द्रलाई जिताउन अनुरोध गर्दै आएकी दाहालले आफु महानगर विकासको लागि सबै नगरवासीहरुको सारथी भएको बताइन् । उनले राजनीति र विकास नीति फरक पाटो भएको बताउँदै महानगरको विकासको लागि नेपाली काँग्रेस र माओवादी केन्द्रका साझा उम्मेद्वारलाई जिताउन अनुरोध गरिन् । दाहाल शुक्रबार भरतपुर महानगरको वडा नम्बर ७ र वडा नम्बर १०, ११ र १२ का विभिन्न स्थानमा कोणसभालाई सम्बोधन गरेकी छन् ।

उनले बिहीबार वडा नम्बर १, २, ३ र ४ का विभिन्न वडाहरुमा आयोजना गरिएका कोणसभाहरुमा सम्बोधन गरेकी थिइन् । बिहीबार पार्टीको तर्फबाट उम्मेद्वारी दिएका उपमेयरका उम्मेद्वार सुरेन्द्र गुरुडका साथमा रहेकी दाहाल शुक्रबार नेपाली काँग्रेसबाट उम्मेद्वार बनेकी पार्वती शाहलाइ उपमेयरमा जिताउन अनुरोध गरिन् । उनले मेयर पदको लागि गोलाकार भित्रको हसियाँ हथौडामा र उपमेयरको लागि रुख चिन्हमा मतदान गर्न अनुरोध गर्दै थिइन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र विच तालमेल भएपछि काँग्रेस तर्फबाट उम्मेद्वार बनेका दिनेश कोइराला र माओवादी केन्द्रको तर्फका उपमेयर उम्मेद्वार सुरेन्द्र गुरुड्को उम्मेद्वारी फिर्ता गरिएको थियो ।
उम्मेद्वारी दर्ता पूर्व गत शनिवारदेखि घरदैलो अभियान शुरु गरेकी दाहालले महानगरका केही वडाहरु बाहेक सबैमा एक चरणमा घरदैलो अभियान पुरा गरि सकेकी छन् । एक हप्ता अगाडी गत शुक्रवार माओवादीले चितवनका सवै नगरमा मेयर उपमेयरको उमेद्वारको टुंगो लगाएको थियो ।
अभियानको क्रममा उनले आफु समग्र चितवनको विकासका लागि प्रतिवद्ध रहेको र जनताको चाहना वमोजिम विकास अगाडि वढाउने प्रतिवद्धता जनाएकी छन् । विभिन्न सुकुम्वासी वस्तीमा समेत घरदैलो गरेकी दाहालले आफुले भरतपुर महानगरलाई सुकुम्वासी रहित नगरका रुपमा स्थापित गर्ने लक्ष लिएको वताइन् ।
पार्टीको कामको लागि चितवन बाहिर धेरै समय विताएकी उनले अवको राजनीतिक जीवन चितवनमै वित्ने बताइन् । चुनावी प्रचार अभियानमा आम मतदातासंग उनले आफु चितवनको विकासको लागि यहाँ आएको र नेपाली काँग्रेसले समेत समर्थन गरेकोले अव आफ्नो उम्मेद्वारी साझा उम्मेद्वारी भएको बताएकी हुन् ।
२०६४ र २०७० सालका संविधानसभाको चुनावमा तत्कालीन भरतपुरको वडा नम्बर ६ (हालको ४) लक्ष्मी मावि केन्द्रबाट मतदान गरेकी दाहालको जन्म साविक शिवनगरमा भएको हो । बाल्यकाल चितवनमा विताएकी उनीले माध्यमिक तहको शिक्षा समेत चितवनमै पुरा गरेकी हुन् । माओवादी जनयुद्धकालमा विभिन्न जिम्मेवारी सम्हाल्दै काठमाण्डौं जिल्लाको पार्टी सेक्रेटरीको समेत जिम्मेवारी निभाइसकेकी उनी यतिवेला माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय महासचिव हुन् ।