प्रेसलाई विश्वासीलो बनाउनुपर्नेमा जोड

सन्तकुमार चौधरी
चितवन २०, बैशाख । प्रेसलाई विश्वासीलो बनाउन चुनौति बन्दै गएको चितवनका अगुवा पत्रकारहरुले बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ चितवनले बुधवार भरतपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

पत्रकारिता पेशालाई प्रभावकारी र विश्वासिलो बनाउन नसके स्वतन्त्र पत्रकारिताको खासै अर्थ नरहने समेत उनिहरुको भनाई थियो । प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आर्चायले स्वतन्त्र पत्रकारितालाई जोगाउन समेत चुनौती बढ्दै गएको बताउनुभयो । पत्रकारहरुले आफ्नो पेशागत मर्यादालाई ख्याल गर्न सकिएन भने पत्रकारिता पेशा स्वतन्त्र रहन सक्दैन उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य शालिग्राम नेपालले बढ्दो पेशागत चुनौतीलाई सामाना गरेर अगाडी बढ्नुपर्ने बेला भएको बताउनुभयो । स्थानीय तहको निर्वाचनलाई सफल बनाउन पत्रकारहरुको पनि उत्तिकै भूमिका हुने भएकाले आफ्नो पेशाले भ्याए सम्म चुनाव सफल बनाउने तर्फ नै ध्यान केन्द्रीत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, क्रान्तिकारी पत्रकार संगठन चितवनका अध्यक्ष नवराज ढकाल, पत्रकार महासंघका सल्लाहाकार जनक अर्यालय लगायतले बोल्नुभएको थियो ।