पूर्वी चितवनका चार नगरपालिकामा उम्मेदवारी दर्ता (भिडियोसहित)

चितवन, बैशाख १९ । पूर्वी चितवनका चार नगरपालिकामा उम्मेदवारी दर्ता रत्ननगर बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि दलहरुले पूर्वी चितवनका चारवटा नगरपालिकामा उम्मेदवारी दर्ता गराएका छन । यहाँको रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाका दलहरुले मेयर, उपमेयर,वडा अध्यक्ष नगर सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन ।

रत्ननगर नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरमा रुपनराज घिमिरे,उपमेयरमा निता ढकालले उम्मेदवारी दिएका छन । १६ वटा वडामा मेयर, उपमेयर र वडा अध्यक्ष सहित ८२ जनाले उम्मेदवारी दिएका छन । रत्ननगरमा एमालेबाट मेयरमा नारायण वन र उपमेयरमा विमला दुवाडी वडा अध्यक्ष गरी ८२ जनाले उम्मेदवारी दर्ता गराउका छन । त्यस्तै रत्ननगरमा माओवादी केन्द्रबाट मेयरमा पूर्ण बहादुर अम्गाई (सुवोध), उपमेयरमा संगिता भट्टराई, वडा अध्यक्ष सहित ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

राप्रापाबाट मेयरमा गोविन्द्र प्रसाद अधिकारी र उपमेयरमा उर्मिला पासवानले उम्मेदवारी दर्ता गराएका छन । विजय कुमार गच्छदारले नेतृत्व गरेको नेपाल लोकतान्त्रिक पार्टीबाट मेयर पदमा कृष्ण चौधरी र उपमेयरमा धन्जु महतोले उम्मेदवारी दर्ता गराएका छन । रत्ननगरमा नेकपा मालेबाट मेयरमा पार्वती महतो कुमाल,उपमेयरमा रामहरि लम्सालले उम्मेदवारी दर्ता गराएका छन । त्यसैगरी राष्ट्रिय जनमोर्चाले मेयरमा माहानन्द शर्मा,उपमेयरमा चन्द्रकला क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन ।

बैद्य माओवादीको संगठन देशभक्त जनगणतान्त्रिक मोर्चाबाट मेयर पदमा उत्तमराज सिंखडा,उपमेयरमा विन्दा कार्कीले उम्मेदवारी दिएका छन । नयाँ शक्ति पार्टीबाट मेयरमा नारायण रेग्मी र उपमेयरमा मिरा दुवाडीले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । त्यसैगरी जनजागरण पार्टी नेपालबाट रत्ननगरमा मेयर पदमा दुर्गाप्रसाद सुवेदी र उपमेयरमा मायादेवी धमलाले उम्मेदवारी दर्ता गराएका छन् ।