एमालेबाट भरतपुर महानगर मेयरमा देवी ज्ञवाली (हेरौ एमाले चितवनका पुरा उम्मेदवारहरुको विवरण)

चितवन, १९ बैशाख ।  एमालेले भरतपुर महानगरपालिकाको प्रमुखमा केन्द्रीय सल्लाहकार देवी ज्ञवालीलाई उम्मेदवार बनाएको छ।

पार्टी केन्द्रको बैठकले प्रमुखमा ज्ञवाली र उपप्रमुखमा चितवन जिल्ला कमिटी सदस्य दिव्य आचार्यलाई उमेदवार बनाउने निर्णय गरेको हो। ज्ञवाली एमाले अध्यक्ष केपी शर्मा ओली निकटका व्यक्ति मानिन्छन्।

भरतपुर महानगरपालिकामा माओवादीबाट केन्द्रबाट अध्यक्ष प्रचन्डकी छोरी रेणु दाहाल प्रमुखको उम्मेदवार छिन्। कांग्रेसले अझै उम्मेदवारको टुंगो लगाएको छैन।

यसअघि गएको ९ गते एमाले चितवनले प्रमुखका लागि सिफारीस भएका ८ जना मध्ये ४ जनाको नाम छनोट गरेर केन्द्रमा पठाएको थियो। यसरी सिफारिस भएका नेताहरुमा विजय सुवेदी, देवी ज्ञवाली, केशवलाल श्रेष्ठ तथा उमा कार्की थिए। एमालेले रत्ननगरको प्रमुखमा संस्थापक नगरप्रमुख नारायण वन र उपप्रमुखमा विमला दुवाडीलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको छ।

खैरहनीको प्रमुखमा पूर्व सांसद लालमणि चौधरी र उपप्रमुखमा सुनिता थपलिया उम्मेदवार छन्।

राप्तीमा प्रमुखमा प्रभाव बराल र उपप्रमुखमा इमानसिंह लामा, कालिकाको प्रमुखमा खुमनारायण श्रेष्ठ र उपप्रमुखमा कमला भट्टराई तथा माडी नगरपालिकाको प्रमुखमा नादरमणि पौडेल र उपप्रमुखमा ताराकाजी महत्तो उम्मेदवार छन्। यस्तै र्ईच्छाकामना गाउँपालिकाको अध्यक्षमा नारायण अधिकारी र उपाध्यक्षमा जूनाराज भण्डारी उम्मेदवार छन्।