रत्ननगरलाई समृद्ध नगर बनाउनै मेरो उम्मेदवारी : राप्रपा हरिहर

 

चितवन, १८ बैशाख । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ जयमंगलाका स्थायी बासिन्दा हरिहर पौडेलले स्थानीय निर्वाचन २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

स्वर्गीय पिता विश्वनाथ पौडेल र स्वर्गीय माता कौशीला पौडेलको कोखबाट २०३० साल साउन २७ गते जन्मिएका हरिहरले प्रमाणपत्र तहसम्मको औपचारिक अध्ययन गरेका छन् ।

तत्कालिन पञ्चकन्या पञ्चायत वडा नम्बर ९ मा जन्मिएका पौडेलले विक्रम संवत २०४७ सालमा एसएलसी पास गरि व्यवस्थापन विषयमा प्रमाणपत्र तह पास गरेका हुन् । २०५२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर पौडेलले आफ्नो राजनीतिक यात्रा सुरुआत गरेका हुन् । पौडेल अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनको सहसचिव पदको जिम्मेवारीमा छन् ।

देशको विभिन्न राजनीतिक काल खण्डमा काम गर्दै विक्रम सम्वत् २०६० सालमा जिल्ला विकास समिति चितवनको सदस्य समेत भएर जिल्लाको विकासमा आफूलाई संलग्न गराइसकेका छन् ।

रत्ननगर नगरपालिका वडा नम्बर १३ को वडा नागरिक मञ्चको संयोजक हुँदै पौडेलले स्थानीय विभिन्न संघसंस्थामा रहेर जनताको सेवा गर्दै आएका छन् । सधैँ जनपक्षीय रुपमा आफूलाई उभ्याएका पौडेल एक विकास प्रेमी नेता समेत हुन् ।

रत्ननगर नगरपालिकाको वडा नम्बर १३ मा रहेको सार्वजनिक जग्गाको संरक्षण गर्न, त्यहाँको बजार व्यवस्थापन गर्न, स्थानीय सुकुम्बासीहरुको व्यवस्थपन गर्न आफूले वडा अध्यक्षमा उम्मेदवारी दिएको पौडेलको भनाइ छ ।

आफू वडा अध्यक्ष भएमा वडा भित्र रहेको स्वास्थ्य चौकीलाई विस्तार गर्दै स्वास्थ्य चौकीमा नै सुत्केरी हुन सक्ने व्यवस्था गर्ने, वडा भित्र रहेको मन्दिर र चर्चको संरक्षण गर्दै आफ्नो वडामा रहेका पूर्व प्राथमिक तहका विद्यालयलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका छन् ।

रत्ननगर १३ मा रहेका सडकहरुलाई ६ मिटरको मापदण्ड तोक्दै सबै बाटो पिच गर्ने, वडा भित्र रहेका पशुपालक किसान, खोतिपाती गर्ने किसानलाई प्रोत्साहन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी घोषणापत्र अनुसार काम गर्ने पौडेलको प्रतिवद्धता रहेको छ । भने रत्ननगरलाई समृद्ध नगर बनाउनै आफ्नो उम्मेदवारी रहेको उनले बताए ।