देवघाटधामलाई धार्मिक पर्यटकीय नगरी बनाईने

कुल काफ्ले
चितवन, बैशाख १७ । धार्मिक तिर्थस्थल देवघाट क्षेत्रलाइ सरकारले धार्मिक पर्यटकिय नगरीका रुपमा विकास गर्ने भएको छ ।
नेपालका ८ ओटा धार्मिक क्षेत्रहरुको पुर्वाधार विकासका लागि गुरुयोजना बनाइंदै छ । ८ ओटा धार्मिक क्षेत्र मध्ये कालिगण्डकी र त्रिशुली नदिको संगमस्थल देवघाटलाइ पनि छनौट गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
देवघाटको दिगो विकासका लागि आइतबार मन्त्रालयको टोलिले देवघाट क्षेत्र विकास समिति र सरोकारवालाहरु संग अन्तरक्रिया गरेको छ ।
विकासका पुर्वाधार निर्माण गर्दा कम्तिमा २५ बर्ष सम्म दिगो रहन सक्ने गुरुयोजना बनाइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह सचिव भरतमणि सुवेदिले जानकारी दिए । गुरुयोजना बनाउंदा कार्यान्वयन योग्य प्रस्तावहरु राख्न सुवेदीले सरोकारवाला संग आग्रह गरेका थिए ।
देवघाटमा निर्माण गरिएका भवनहरु सुरक्षित नरहेकोले भवन निर्माण आचार संहिता बनाइनुपर्ने सरोकारवालाले सुझाएका छन् ।
ऐलानि जग्गाहरु स्थानिय आश्रमहरुको नाममा दर्ता गरिने भनि सरकारले गरेको निर्णय गलत भएको भन्दै सो जग्गा सरकारकै स्वामित्वमा रहने गरि देवघाट क्षेत्र विकास समितिको नाममा दर्ता गर्नुपर्ने वताइएको छ । गुरुयोजना कार्यान्वयनका लागि समिति गठन भएपनि सरकारले बजेट विनियोजन गर्न नसक्दा पुर्वाधार निर्माणमा समस्या आउन सक्नेमा मन्त्रालयलाइ सचेत गराइएको छ ।

देवघाट क्षेत्र विकास समितिले यसअघि ०६६ सालमा सरकारबाट स्विकृति लिइ गूरुयोजना निर्माण गरेको थियो । तर त्यो कार्यान्वयन हुन नसकेपछि सरोकारवालाहरु मौन रहेका थिए । कालिगण्डकी र त्रिशुलीको संगमस्थल वेणीमा त्रिकोणात्मक पुल निर्माण गरिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।
मन्त्रालयका सह सचिव भरतमणि सुवेदीको नेतृत्वमा आएको टोलिमा उपसचिव राम प्रसाद सापकोटा, शाखा अधिकृत गणेश कटुवाल लगायतको सहभागिता रहेको थियो । टोलिले गूरुयोजना निर्माणका लागि स्थानिय सरोकारवालाहरुको सुझाव संकलन गरेको छ ।