किन बुझाइएन दर्ता भएका १७७ हतियार चितवनमा ?

चितवन, १७ वैशाख । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर सुरु भएको हतियार सङ्कलन अभियानअन्तर्गत चितवनमा तोकिएको समयभित्र जम्मा २९ जनाले मात्रै हतियार बुझाएका छन् ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार २७ वटा हतियार दर्तावाला रहेको र दुईवटा भने बिना दर्ताका भरुवा बन्दुक बुझाइएको छ ।
प्रहरीले दिएको समयसीमा यही वैशाख १५ गतेभित्र दर्ता भएका अन्य १७७ वटा हतियार भने बुझाइएको छैन ।

जिल्ला प्रशासन कार्यालय, चितवनमा कुल २०४ वटा हतियार दर्ता भएको तथ्याङ्क छ ।

‘वैशाख १५ सम्म बुझाउने समय थियो,’ थापाले भने, ‘आजदेखि निर्वाचन सुरक्षा योजनाअनुसार खानतलासी र कारबाही हुन्छ ।’

अन्य हतियार कहाँ गए भनेर खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्लामा दर्ता भएका २०४ हतियारमध्ये ११५ वटा हतियारमात्रै नवीकरण भएको जिल्ला प्रशासन कार्यालय, चितवनका नायब सुब्बा हरिबाबु ढकालले जानकारी दिए ।

प्रहरीले गएको चैत महिनामा सूचना जारी गरी जिल्लामा अनुमति लिएका र नलिएका कुनै पनि हातहतियार र विस्फोटक पदार्थ बुझाउन निर्देशन दिएको थियो ।

निर्वाचन सुरक्षालाई मध्यनजर गरी हतियार बुझाउन भनिएको हो । तोकिएको समयभित्र नबुझाउनेलाई कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ । अन्य सम्भावित क्षेत्रको पहिचान गरी निगरानी बढाइएको प्रहरीले जनाएको छ ।
रासस