यसरी बच्न सकिन्छ गैडाको आक्रमणबाट ! , घाँसेमैदानको आर्किटेक्ट इन्जिनियर एकसिंगे गैँडा

नरेश सुवेदी, गैंडाविज्ञ

लोपोन्मुख जनावर एकसिंगे गैँडा, नेपाल र भारतमा मात्रै पाइन्छ । तर, खोसिँदै गएको बासस्थान, चोरीसिकारी र बढ्दो मानव द्वन्द्वका कारण गैँडा संकटमा छ । त्यसो त गैँडाले कैयौँ मान्छे मार्ने तथा घाइते बनाउने गरेको पनि छ । एकसिंगे गैँडाको स्वभाव कस्तो हुन्छ ? यसले कस्ता मान्छेलाई आक्रमण गर्छ ? गैँडासँग कसरी जोगिने ? र यसकोे संरक्षण कसरी गर्ने ? जस्ता प्रश्न ज्वलन्त छन् । यसै सन्र्दभमा गैँडाविज्ञ नरेश सुवेदीसँग गैँडा–संवाद गरेका छन् :

गैँडाको स्वभाव
विश्वमा पाँच प्रजातिका गैँडा पाइन्छन् । यीमध्ये तीन प्रजातिका गैँडा एसियामा मात्रै पाइन्छन् । एकसिंगे गैँडा त नेपाल र भारतमा मात्रै पाइन्छ । पहिले पाकिस्तान, भुटान र बर्मामा पनि एकसिंगे गैँडा पाइन्थ्यो, त्यहाँ अहिले लोप भइसक्यो । भारतको आसाम र नेपालको चितवनमा एकसिंगे गैँडा बढी छन् ।

यसको मुख्य बासस्थान नदीतटीय क्षेत्रको ओसिलो बगर हो । तर, जनसंख्या वृद्धिसँगै तटीय क्षेत्र कटानले गैँडालाई ठूलो असर परेको छ । यसकारण एकसिंगे गैँडा घट्ने चुनौती छ ।

नेपालमा एकसिंगे गैँडा चितवन, बर्दिया र शुक्लाफाँटा निकुञ्जमा मात्रै पाइन्छ । गैँडा नदीतटीय क्षेत्रमा पाइने अग्लो खालको घाँसमा चर्न र बस्न रुचाउँछ । अग्ला सालका रूख भएको क्षेत्र रुचाउँदैन । चितवनमा नारायणी र राप्ती नदीले बनाएको तटीय क्षेत्रमा बढी बस्छ । यसले बर्खामा आउने बाढीले निर्माण गरेका टापुमा मौलाएको काँस र नर्कटजस्ता घाँस खान र चिस्यान क्षेत्रमा आहाल बस्न रुचाउँछ । काँस र नर्कट गैँडाले एकपटक खाएपछि पुनः पलाउँछ र तीन चारपटकसम्म खान पाउ“छ । खानका लागि विभिन्न ठाउँ चाहार्ने गैँडाले दिसा भने एकै ठाउँमा गर्छ ।

गर्मी मौसममा गैँडा पोखरी वा तालमा करिब आठ घण्टासम्म बस्छ । खाएपछिको अधिकांश समय सुत्न तथा अहालमा खेलेरै बिताउँछ । गैँडालाई अन्य जनावरलाई जस्तो धेरै क्षेत्रफलको बासस्थान पनि चाहिँदैन । एउटा गैँडालाई सामान्यतया ५ देखि १० वर्ग किलोमिटर जति ठाउँ भए पुग्छ । तर, हात्तीलाई एक सय वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफल चाहिन्छ । गैँडालाई विशेष तापक्रम पनि चाहिँदैन । मौसममा आउने सानातिना परिवर्तनलाई यसले सहजै स्विकार्न सक्छ ।

गैँडाले मान्छे मार्ने अवस्था
जंगली जनावरले मान्छे मारेको तथ्यांक केलाउँदा सबैभन्दा धेरै हात्तीले नै मारेको छ, र त्यसपछि चितुवाले । गैँडा तेस्रो स्थानमा पर्छ । गैँडाले जाडो मौसममा मान्छे मारेको पाइन्छ, त्यसमा पनि बिहान र बेलुकाको समयमा । बेलुका मसुरो, गहुँलगायत अन्न खान आउने गैँडा बिहान धेरैबेरसम्म बस्तीवरपर नै रहन्छ । बिहान हुस्सु लागेका वेला उसले नजिकका चिज पनि देख्दैन । यो अवस्थामा धपाउन जाँदा गैँडाले मान्छेलाई आक्रमण गर्छ । कहिलेकाहीँ मान्छेले पनि गैँडा नदेख्दा र नजिक पर्दा आक्रमणको सिकार हुन्छन् ।

गैँडाले मान्छे मार्ने योजना कहिल्यै बनाउँदैन । बच्चा हुर्काउँदा र आफूलाई असुरक्षा महसुस हुँदा जनावरले आक्रमण गर्ने हो, गैँडाको पनि यही स्वभाव हुन्छ ।

गैँडाले आँखा कम देखे पनि कुनैपनि गन्ध भने तीनसय मिटरसम्मको थाहा पाउँछ । गैँडाले जहिल्यै दाह्राले हानेर हुत्याउने र मार्ने गर्छ । मान्छेलाई आक्रमण गर्दा अन्य अंग प्रयोग गर्दैन । एकपटक हानेपछि अर्कोपटक दोहोर्यारएर हान्न पनि पर्दैन । मान्छे मरेन भने कहिलेकाहीँ दोहोर्याएर हान्न पनि सक्छ ।

गैँडाको आक्रमणबाट बच्ने उपाय
गैँडा आउने ठाउँमा सकेसम्म कम आवतजावत गर्नुपर्छ । जानैपर्ने भए निकै सतर्क भएर हिँड्नुपर्छ । गैँडाको सामुन्ने परियो भने सीधा दौडिनुहुँदैन । गैँडालाई झुक्याएर दायाँ–बायाँ गर्दै भाग्नुपर्छ । आफ्नो शरीरमा भएका लुगा, टोपी, जुत्ता, झोला जे हुन्छ फाल्दै भाग्दा गैँडालाई अल्मल्याउन सकिन्छ । फालेको लुगा सुँघ्न थाल्ने भएकाले गैँडा अल्मलिन्छ । सम्भव भए ६ फिटभन्दा अग्लो रूख या पर्खालमा चढ्दा पनि सुरक्षित भइन्छ ।

किन बचाउने गैँडा ?
पृथ्वीमा मानव सर्वश्रेठ प्राणी हो । पृथ्वी हामी सबैको साझा हो । मानिसजस्तै गैँडाको पनि बाँच्न पाउने अधिकार छ । पारिस्थिक प्रणाली कायम राख्न पनि गैँडा जोगाउनुपर्छ । एउटा प्रजाति भएन भने खाद्यशृंखलामा समस्या हुन्छ । एउटा जीव अर्कोमा निर्भर रहेको हुन्छ । गैँडालाई घाँसे मैदानको आर्किटेक्ट इन्जिनियर भनिन्छ । गैँडाले घाँसे मैदानमा बाटो बनायो भने अरू जनावरलाई पनि आवात–जावत गर्न सजिलो हुन्छ । गैँडाले अरू जनावरलाई पनि बाँच्न सहजीकरण गर्छ । यो पुस्ताले एकसिंगे गैँडा नजोगाए भोलिको पुस्ताले के हेर्ने ? वन्यजन्तुको खोजअनुसन्धानका लागि पनि जंगली जनावर जोगाउन जरुरी छ ।

कसरी हुन्छ गैँडा चोरी–सिकारी ?
एकै ठाउँमा दिसा गर्ने स्वभावका कारण गैँडा चोरी–सिकारीबाट असुरक्षित हुन्छ । जहाँ पुगे पनि दिसा गर्न एकै ठाउँमा पुग्छ । यो अवस्थामा चोरी–सिकारीले दिसा गर्ने ठाउँनजिकै खाल्डो खनेर गैँडा मार्ने गर्छन् । खाल्डो खनेपछि उनीहरूले स्याउलाले छोपिदिने गरेकाले गैँडा झुक्किन्छ । खागका लागि गैँडा यसरी मारिन्छ । तर, आजकाल योबाहेक अन्य तरिकाले चोरीसिकारी गरिएको पाइन्छ । गोलीजस्तै अत्याधुनिक हतियारले हानेर मारिन्छ ।

किन चोरी हुन्छ खाग ?
गैँडाको खाग कपालको गुजुल्टोजस्तै हो । रौँहरूको बलियो मिश्रण नै खाग हो । गैँडाको खाग चीनमा परम्परागत औषधि बनाउन प्रयोग गरिन्छ । कुनै औषधिले काम नगरेपछि गैँडाको खाग प्रयोग गरेमा निको हुन्छ भन्ने विश्वास त्यहाँ छ । यस्तै, खाग घोटेर खाएमा यौन उत्तेजना बढ्ने पनि विश्वास छ । खासगरी बुढ्यौली लागेपछि कम हुने यौन उत्तेजनालाई खागले बढाउँछ । महँगा सामान खरिद गर्ने सोख र क्षमता चिनियाँमा बढ्दै गएकाले पनि गैँडा मार्ने र खागको तस्करी गर्ने क्रम बढेको छ । तर, खागको वैज्ञानिक प्रयोग भने केही छैन । एउटा विश्वासको आधारमा यो सब भइरहेको छ ।

एकसिंगे गैँडा संरक्षणमा चुनौती
००७ मा चितवनमा मात्रै आठ सयभन्दा धेरै गैँडा थिए । सोही दशकमा तराईमा औलो उन्मूलन भयो । सरकारले तराईमा बस्ती बसाल्यो । बस्ती विस्तारले गैँडामा असर पर्न थाल्यो । त्योवेला १५ वर्षको अवधिमा चितवनमा मात्रै ६५ प्रतिशत जंगल काटिएको एक सर्वेक्षणले देखाएको थियो ।

०२३ मा आइपुग्दा गैँडाको संख्या एक सयको संख्यामा झर्यो । गैँडा घट्दै गएपछि तत्कालीन राजदरबारमा कुरा पुग्यो । त्यसपछि गैँडा संरक्षणमा दरबार नै सक्रिय भयो । सुरुसुरुमा सशस्त्र वनरक्षक प्रयोग गरेको दरबारले ०३१ मा गैँडा संरक्षणका लागि सेना नै खटायो । सिकारीमाथि गोली हान्न पाउने अधिकारसमेत सेनालाई दिइयो । गैँडाको बारेमा वन विभागमार्फत हरेक महिना दरबारमा रिर्पोटिङ गर्ने नियम राखियो । त्यो वेला वन्यजन्तुको संरक्षणसम्बन्धी रिपोर्ट दरबारमा बुझाउनुपथ्र्यो । गैँडा संरक्षणमा दरबार लागेपछि चितवनमा मात्रै गैँडाको संख्या बढेर ६ सयभन्दा बढी पुग्यो । तर, माओवादी युद्धमा राजनीतिक अस्थिरता हुँदा सिकारी सक्रिय हुने मौका पाए । पुनः गैँडाको संख्या घट्यो ।

शान्ति प्रक्रियापछि नेपाल प्रहरीभित्र पनि वन्यजन्तु चोरीसिकारी नियन्त्रणका लागि छुट्टै ब्युरो खडा भयो । ०७१ मा आइपुग्दा देशभरमा गैँडाको कुल संख्या ६ सय ४५ पुगेको छ ।

सरकारले चोरीसिकारी शून्य वर्ष मनाउन थालेको तीन वर्ष भयो । वैशाख २० गते तेस्रो चोरीसिकारी शून्य वर्ष मनाउने तयारी हुँदै गर्दा चैत २५ गते एउटा गैँडा गोली हानी मारिएको अवस्थामा भेटियो । यो घटनाले गैँडा संरक्षणमा फेरि चुनौती थपिएको छ ।