रेणु दाहालको चितवन उम्मेदवारीः प्रचण्डका दुई ‘टार्गेट’

राजेन्द्र आचार्य
चितवन, बैशाख १५ । नेकपा माओवादी केन्द्र चितवनले भरतपुर महानगर सहित सवै नगर र गाउँपालिकामा मेयर उपमेयर सहित सवै उम्मेदवार सार्वजनिक गरेको छ। आज पार्टी कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरी उम्मेदवार सार्वजनिक गरेको हो।

माओवादीले पोलिटव्यूरो सदस्य नेतृ रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा अगाडि सारेको छ। भरतपुरको उपमेयरमा सहिद परिवारका सुरेन्द्र श्रेष्ठलाई अगाडि ल्याइएको छ। उनी पश्चिम चितवनका सक्रिय युवा नेता हुन्।

त्यसैगरी रत्ननगरको मेयरका लागि पूर्ण वहादुर अम्गाई ‘सुवोध’ र उपमेयरमा संगीता भट्टराईको नाम सिफारिस गरिएको छ। दुवैजना भूमिगत राजनीतिबाटै आएका हुन्। संगीताका श्रीमान विद्रोहकालमा मारिएका थिए।

त्यसैगरी माडीको लागि मेयरमा ठाकुर ढकालको नाम सर्वसम्मत सिफारिस गरिएको छ भने उपमेयर संचारकर्मी सरिता महतोलाई अगाडि सारिएकोछ । राप्ती नपाको मेयरमा रामचन्द्र पाठक र उपमेयरमा कल्पना लामा तथा कालिका नगरको मेयरमा रामध्वज डल्लाकोटी र उपमेयरमा सविता लामा मौदानमा उत्रने भएका छन्।

त्यसैगरी, इच्छाकामना गाउपालिकाको अध्यक्षमा प्रताप गुरुङलाई उठाइएको छ भने उपाध्यक्षमा सावित्री सिलवाल छिन्।

घोषणासभामा बोल्दै भरतपुर महानगरको मेयरका उमेद्वार रेणु दाहालले आफु चितवनकी छोरी भएकोले अवको राजनीति चितवनको विकासका लागि लगाउने प्रतिवद्धता व्यक्त गरिन्। उनले आफुलाई प्रचण्ड पूत्री भन्दा गर्व लागेपनि परिचय त्यतिमात्रै नभएकोले सोचाई फराकिलो वनाउन सवैमा आग्रह समेत गरिन्। यद्यपी उनको उम्मेदवारीलाई लिएर पार्टी भित्र र बाहिर अनेकन विश्लेषण र अनुमानहरु हुन थालेका छन्।

उम्मेदवारीको तार

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)की पोलिट्ब्युरो सदस्य रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर उम्मेदवारका लागि त्यहाँको स्थानीय पार्टीले निश्चित गरेपछि उनको ‘जिल्ला–प्रवेश’लाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी समेत रहेकी रेणुले चितवनको स्थानीय तह रोज्नुलाई उनका पिताको राजनीतिसँग पनि जोड्ने गरिएको छ।

पछिल्लो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ मा सभासदको उम्मेदवार रहेकी रेणु पहिलोपटक स्थानीय तहको उम्मेदवार हुने भएकी हुन्। उनले पछिल्लो समयमा चितवन जिल्लामै राजनीति गर्ने इच्छा देखाउँदै आएको बताइन्छ। दाहालको मतदाता नामावली पनि भरतपुर महानगरको चार नम्बर वडामा छ।

स्थानीय निर्वाचनका लागि माओवादी केन्द्रका तर्फबाट महानगरमा पहिलोपटक पोलिट्ब्युरो तहको महिला नेताका रुपमा पनि दाहाल अघि सारिएकी देखिन्छिन्। यसअघि कतिपयले उनलाई राजधानी सहर काठमाडौंकै सम्भावित उम्मेदवारका रुपमा चर्चा गरेका थिए।
रेणु भरतपुर नगरपालिकामा जानुलाई प्रधानमन्त्री दाहालकै ‘राजनीति स्टेप’का रुपमा किन व्याख्या गरिन्छ? यसका दुई कारण छन्। पहिलो, चितवन प्रधानमन्त्रीको गृह जिल्ला हो, जहाँ संसदीय निर्वाचनको पृष्ठाधार निर्माण गर्ने उनको चाहना हुन सक्छ। दोस्रो, चुनाबी तालमेल गर्दा तुलनात्मक रुपमा बलियो दाबी चितवनमै गर्नु स्वाभाविक देखिन्छ।

टार्गेट एकः कांग्रेससँग तालमेल
प्रधानमन्त्रीको दल माओवादी केन्द्रले उम्मेदवारी दर्ता गर्ने एक साताअघिसम्म राजधानी सहर (काठमाडौं)को मेयर उम्मेदवार तय गरिसकेको छैन। तर, चितवनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीकै छोरीको नाम घोषणा भएको छ।

यसको अर्थ हो– माओवादी केन्द्र काठमाडौंमा मेयर उम्मेदवार बनाउने÷नबनाउनेबारे टुंगोमा पुग्नुअघि अन्य दलसँग तालमेलको सम्भावनालाई हेर्दैछ। सत्तारुढ दलहरुबीच नै तालमेल हुने अवस्था आएमा माओवादी केन्द्रले काठमाडौंमा कांग्रेसलाई मेयरमा समर्थन गर्न सक्ने देखिन्छ। त्यस्तो अवस्थामा उसले भरतपुरको मेयरमा आफ्ना लागि दाबी गर्न सक्छ।

काठमाडौंको मेयर सुनिश्चित हुने सर्तमा कांग्रेसले पनि भरतपुरमा सत्ता गठबन्धनको सहयात्रीलाई सहयोग गर्नुपर्ने हुन्छ। तालमेल हुने परिस्थितिमा भरतपुर महानगर माओवादीलाई आयो भने त्यतिबेला रेणु नै प्रधानमन्त्रीकै पहिलो छनौट हुन्।

टार्गेट दुईः आउँदो संसदीय निर्वाचन
प्रधानमन्त्री दाहाल दुई पटक संविधानसभामा उम्मेदवार भए। तर दुई पटक नै उनी आफ्नो गृहजिल्लाभन्दा बाहिर उठेका थिए। दुई–दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदा पनि उनले गृह जिल्ला चितवन वा जन्म जिल्ला कास्कीको निर्वाचन क्षेत्र रोजेका थिएनन्।

पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं र रोल्पाबाट विजयी भएका दाहाल दोस्रोमा सिराहाबाट विजयी भने काठमाडौंमा पराजित। दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी पराजयको एउटा मुख्य कारणमा बाहिरका जिल्लामा उम्मेदवारी दिनु पनि रहेको मानिन्छ। माओवादीका प्रमुख नेताहरुले संविधानसभा निर्वाचनमा आफ्नो गृह जिल्लाभन्दा बाहिरबाट उम्मेदवारी दिएका थिए।

यसपटक त्यसबाट पाठ सिक्दै प्रधानमन्त्री दाहाल आफ्नो घर–ठेगानामै चुनाब लड्ने मनस्थितिमा पुगेका देखिन्छन्। पछिल्लो समयमा राजनीतिक क्रियाशीलता, आउजाउ र बजेट विनियोजनसमेतमा उनले चितवनलाई प्राथमिकता दिएको देखिन्छ।
रेणुको उम्मेदवारी संसदीय निर्वाचनमा आफ्नो विजय निश्चित गर्नका लागि उनले आजैदेखि गरेको तयारी हुन सक्छ।