नाटकीय ढंगबाट दिउसै जग्गा व्यवसायी कार्कीको १५ लाख रुपैयाँ लुटियो

सन्तकुमार चौधरी

चितवन, बैशाख १३ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको दाबी गरिरहँदा चितवनमा दिउँसै लुटपाट भएको छ । चितवनका जग्गा व्यवसायी केशब कार्कीको १५ लाख रुपैयाँ बुधबार मध्यान्ह १२ बजे शहीदचोकको नबिल बैंक अगाडिबाट लुटिएको हो ।

कार्कीले जग्गाविक्री वापत चेतनाथ सापकोटाबाट १५ लाखको चेक बुझेका थिए । त्यही चेक साट्नका लागि सापकोटा र कार्कीका सवारीचालक प्रेमबहादुर पौडेल शहीदचोकस्थित नबिल बैंकमा पुगेका थिए । पौडेल १५ लाखको चेक साटेर आफ्नो गाडीमा फर्केका थिए भने सापकोटाचाहीँ बैंकमै थिए । चेक साटेपछि बा१२च ५९२४ नम्बरको निलो स्कार्पियो गाडीभित्रै पैसा राखेर गन्तब्यतर्फ जान लागेका पौडेललाई एक अपरिचितले गाडीको टायर पञ्चर भएको जानकारी गराएका थिए । गाडी पञ्चर भएको भनेपछि हेर्नका लागि पौडेल पछाडि गएपछि ती व्यक्तिले गाडीमा रहेको १५ लाख लुटेर भागेको बताइएको छ ।

नाटकीय ढङ्गबाट १५ लाख लुटपाट भएपछि पौडेलले तत्कालै प्रहरीलाई खबर गरेका थिए । चोरी भएको स्थानमा सीसीटीभी नभएकाले लुटेराको पहिचानमा समस्या भएको चितवन प्रहरीले बताएको छ । लुटपाट गर्ने व्यक्ति कालो वर्णको भएको भनेपनि निक्र्यौल गर्न गाह्रो भएको चितवन प्रहरीले बताएको छ । यद्यपि लुटेराको खोजीकार्य तीब्र पारिएको चितवन प्रहरीले जनाएको छ ।