भरतपुर १४ मा माओवादी केन्द्रद्धारा भट्टलाई वडा अध्यक्ष

 

अनिल भट्टराई
चितवन, १घ बैशाख । चितवनका सबैजसो स्थानिय तहमा उमेद्वार सार्वजनिक गरेको नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका १४ न. वडामा समेत उमेद्वार घोषणा गरेको छ । बुधवार पार्टी सम्पर्क कार्यालय शिवनगरमा विशेष भेलासगै खेम भट्टलाई वडा अध्यक्षका लागी उमेद्वार उठाएको हो । प्रधानमन्त्री प्रचण्डको गृह वडा समेत रहेको भरतपुर १४ मा उमेद्वार चयन गर्न माओवादी केन्द्रलाई महाभारत नै भएको थियो ।
खेम भट्टसगै सदस्यमा मनकाजी विक, देवीराम पौडेल, विमला विक, चन्द्रमाया वास्तोला चयन भएका छन् । उमेद्वार भट्टले सबैको माग समस्यालाई आफ्नो नेतृत्वले हल गर्न सक्ने दाबी सहित मतदानका लागी आग्रह गर्नुभयो । उहाँले विकास निर्माणको कामलाई निरन्तरता दिने देखि सुकुम्वासी समस्या हल गर्न सक्दो लाग्ने, भरतपुर १४ मा सिटी वस सञ्चालन, प्राविधिक शिक्षालय निर्माण सम्मको एजेण्डा प्रस्तुत गर्नुभयो ।
माओवादी केन्द्र भरतपुर महानगरपालिकाका प्रमुख ईश्वरी सापकोटा सुमनले सफलताको शुभकामना दिनुभएको छ । भरतपुर १४ मा नेपाली काङग्रेसबाट ओम प्रसाद पोखरेल, एमालेवाट हरिकृष्ण गुरुङ, माओवादी केन्द्रका खेम भट्ट र राप्रपाबाट राम बहादुर नेपालीविच बैसाख ३१ गते वडा अध्यक्षका लागी प्रतिस्पर्धा हुनेभएको छ । सुकुम्वासी समस्या समाधानलाई प्रमुख एजेण्डा बनाएका प्रमुख ४ दलहरुले आफ्ना प्रमुख एजेण्डा मार्फत चुनावी अभियानलाई तिब्रता दिएका छन् ।