निर्वाचन विरुद्धका कुनै पनि गतिविधि नगर्न स्थानिय प्रशासनको आग्रह

कुल काफ्ले 

चितवन, बैशाख १२ । निर्वाचन विरुद्धका कुनै पनि गतिविधि नगर्न स्थानिय प्रशासन चितवनले आग्रह गरेको छ ।

बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचन विरोधी कुनै पनि गतिविधि हुन नदिन प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले सुरक्षा निकायलाइ निर्देशन दिएका छन् । बैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनको अवसरमा जिल्ला निर्वाचन कार्यालय चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रजिअ भट्टले निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको समेत जानकारी दिए ।

केहि दिन अघि विप्लव नेतृत्वको माओवादिले गरेको निर्वाचन विरोधि कार्यक्रम पनि स्थानिय प्रशासनले बल प्रयोग गरि कार्यक्रम अवरुद्ध गरेको थियो । त्यस्तै निर्वाचनमा मतदाताहरुको शतप्रतिशत सहभागिताका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन पनि उनले आग्रह गरे ।

चितवनका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले दुई दशकपछि हुन लागेको स्थानिय तहको निर्वाचनमा मतदाताहरुले उल्लेख्य सहभागिता जनाउन आग्रह गरे ।

सिंहदरबार भित्रको अधिकार अहिले गाउं गाउंमा पुग्ने वातावरण बन्न लागेको वताउंदै उनले मतदान गर्ने आफ्नो अधिकार र कर्तव्य पालना गर्न सुझाव दिए । बैशाख ३१ र जेठ ३१ गरि दुइ चरणको निर्वाचनमा देशभरका ७ सय ४४ स्थानिय तह र ६ हजार ६ सय ८० ओटा वडाहरुमा निर्वाचन हुने छ ।

जिल्ला निर्वाचन कार्यालय चितवनका जिल्ला निर्वाचन अधिकारी हरी प्रसाद ढकालले निर्वाचनमा प्रयोग हुने ६४ प्रकारका निर्वाचन सामाग्रीहरु मध्ये अधिकांश सामाग्रीहरु सोमबार चितवन आइ सकेको जानकारी दिए ।

६४ सामाग्री मध्ये १२ सामाग्रीहरु स्थानीय स्तरकै प्रयोग हुने उनको भनाइ छ । मतदान प्रतिनिधी, निर्वाचन सम्बन्धि ऐन, नियम संग्रह, स्थानीय तह निर्वाचन निर्देशिका, मतपेटीका स्टीकर, मतदाता नामावली लगायतका निर्वाचन सामाग्री आएको उनको भनाई छ । केन्द्रबाट प्राप्त सामाग्रीहरु आगामी २५ गतेभित्र प्रत्येक मतदान केन्द्रमा पठाईने उनले जानकारी दिए । कार्यक्रममा ३ ओटै सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख एवं सरोकारवालाहरुको सहभागिता रहेको थियो ।