शक्तिखोमा किशोरी जागरण अभियानले बालविवाहमा कमी

चितवन ,११ बैशाख । चितवनको पहाडी ईलाका शक्तिखोर आसपासका गाउँमा किशोरी जागरण अभियान सञ्चालन भएपछि पछिल्लो समय बालविवाहमा कमी आएको छ । महिला तथा बालबालिका कार्यालय चितवनको सहयोगमा साविक शक्तिखोर, सिद्धि र पदमपुरमा अभियान सञ्चालन गरेपछि बालविवाहमा कमी आएको हो । विशेषगरी विपन्न तथा पिछडिएका समुदायमा शिक्षा र सचेतनाका कमीले गर्दा बालविवाह हुने गरेपनि अहिले कम भएको महिला तथा बालबालिका कार्यालय चितवनका प्रमुख शान्ताकुमारी पौडेलले बताउनुभयो । ११ देखि १९ वर्ष उमेर समूहका किशोरीहरु मिलेर अभियान चलाएपछि अभिभावकले पनि सहयोग गरेका समूहले जनाएको छ । सिर्जनात्मक किशोरी जागरण समूह शक्तिखोरका अध्यक्ष मेनुका सारू मगरका अनुसार समूह स्थापना गरेपछि केही परिवर्तनहरु भएका छन् । उनीहरूले हप्तामा एक दिन चेतनामूलक कार्यक्रम गर्ने गरेका छन् ।