राजनीतिक दलहरु पनि चुनावको तयारीमा व्यस्त / पर्यटन व्यवसायीहरु पनि उत्साहित,  चितवनमा  तयारी तीब्र

 
सन्तकुमार चौधरी 
चितवन ८ बैशाख । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी चितवनमा तीब्र पारिएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएसंगै निर्वाचनको कार्यले तीव्रता पाएको हो । सोही अनुरुप वैशाख १२ गते जिल्लाका ६ वटा इकाईमा निर्वाचन अधिकृतको कार्यालयहरु संचालन गरिने प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधिस कविप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
कार्यसंचालनका कामहरु अघि बढिरहेको भन्दै उहाँले वैशाख १६ गतेदेखि निर्वाचनको कामले अझै तीव्रता पाउने बताउनुभयो । यस्तै निर्वाचन सम्पन्न गर्न जिल्लाका सात वटै इकाईमा निर्वाचन अधिकृत तोकिएको छ ।

भरतपुरमा प्रमुख निर्वाचनको अधिकृत कार्यलयमा जिल्ला न्यायाधिश कविप्रसाद न्यौपान, कालिका नगरपालिकामा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, खैरहनी नगरपालिकाको निर्वाचन अधिकृतमा कार्यलयकै कार्यकारी अधिकृत टेकराज निरौला, रत्ननगर नगरपालिकामा रक्षा मन्त्रालयकी उपसचिव गीता गुरुङ, माडी नगरपालिकामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयकी उपसचिव इन्द्रकुमारी थपलिया, राप्ती नगरपालिकामा जिल्ला न्यायधिवक्ता परमेश्वर पराजुली र इच्छाकामना गाउँपालिकाको निर्वाचन अधिकृतको रुपमा मालपोत कार्यालय भरतपुरका प्रमुख दिवाकर पौडेल रहनु भएको छ ।
निर्वाचनको प्रक्रिया यस्तो छ :–
वैशाख ३१ गतेको स्थानीय निर्वाचनमा भाग लिन वैशाख १६ गते मनोनयन दर्ताको मिति तोकिएको छ । सो दिन जिल्लाका सात वटै इकाईमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्नेछन् । त्यसको भोली पल्ट १७ गते उम्मेदवार माथि दावीबिरोध गर्ने समय र १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । चितवनमा निर्वाचनमा भाग लिन प्रमुख राजनीतिक दलहरुसंगै कुल २४ वटा दल दर्ता भएका छन । निर्वाचन अधिकृत हरि ढकालका अनुसार चितवनमा कुल ३ लाख १३ हजार २ जना मतदाताहरु छन् ।
दलहरुको तयारी पनि तीब्र :–
वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि चितवन प्रमुख राजनीतिक दलहरु अन्तिम तयारीमा जुटेका छन् । नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलहरु सक्रिय बनेर तल्लो तह सम्म उमेदवार छनौटमा जुटेका छन् । आ–आफ्ना पार्टीका तर्फवाट निर्वाचनमा उमेदवारी दिनका लागि पद्धाधिकारी छनौट गरिरहेका छन् । केही दलले सबैजसो वडामा उमेदवारी दिनेहरुको नामावली तयार गरीसकेका छन भने केहीले अझै गृहकार्य गरिरहेका छन् । नगरपालिका र महानगरपालिकाको मेयरपदका लागि विभिन्न दलका विभिन्न व्यक्तिहरु चर्चामा रहेपनि कुनैपनि पार्टीले आधिकारीक रुपमा मेयर उपमेयरको नाम भने सार्वजनिक गरेका छैनन् ।

स्थानीय निर्वाचनको तयारीले चितवनका पर्यटन व्यवसायीहरु उत्साहित :–
स्थानीयतहको चुनावको तयारीले चितवनका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । १९ वर्षपछि स्थानीय तहको निर्वाचन गराउन सरकारले तयारी थालेपछि पर्यटन व्यवसायीहरु उत्साहित बनेका हुन् ।
सरकारको निर्णय स्वागत योग्य छ भन्दै सरकारको तयारीलाई सहयोग गर्न सबैदलहरुलाई व्यवसायीहरुले आग्रह समेत गरेका छन् । आफ्ना प्रतिनिधि जनता आफैले चुन्ने ठूलो अवसर पाउन लागेको कारण यसलाई सफल बनाउन सबै लाग्नुपर्नेमा उनिहरुले जोड दिएका छन् । स्थानीय स्तरमा निर्वाचित पदाधिकारीहरु भएपछि विकासका कामहरुले तीब्रता पाउनेमा व्यवसायीहरु आशावादी छन् । चितवन पर्यटन व्यवसायी समितिका अध्यक्ष दीलिप मैनालीले चितवनका पर्यटन व्यवसायीहरु जनप्रतिनिधिलाई भोट हाल्न आतुर रहेको बताउनुभयो । जनप्रतिनिधिहरु भएपछि पर्यटन लगायत कयौं क्षेत्रका अधुरा र अलपत्र योजनाहरुले पूर्णता पाउनेमा हामीमा आशावादी छौं उहाँले भन्नुभयो ।
पश्चिम चितवन मेघौली स्थित सारड्ड वाइल्डलाईफ स्याङचुरीका संचालक सुवोध प्रधानले स्थानीय प्रतिनिधि नभए सम्म पर्यटनको क्षेत्रमा सोचेजस्तो बिकास हुने सम्भावना नभएको बताउनुभयो ।

स्थानीय प्रतिनिधि मार्फत संरक्षण र पर्यटनको विकासका योजना बनाउन र त्यसलाई नीतिगत रुपमा कार्यान्वयन गर्न सहज हुनेभएकाले स्थानीय तहको निर्वाचनको विकल्प छैन उहाँले भन्नुभयो । स्थानीय प्रतिनिधि नहँुदा पर्यटन क्षेत्रको विकासमा सरकारको सहभागीता शुन्यता जस्तै देखिएकाले सरकारको सहभागीता बनाउन पनि स्थानीय चुनाव हुनुपर्नेमा उनीहरुको जोड छ । जनता समाचार सँग कुरा गर्दै मेघौली पर्यटन विकास समितिका अध्यक्ष कृष्ण भुर्तेलले योजना र नीति अनुसार संरक्षण र पर्यटनको विकासका लागि समन्वयकारी भूमिका खेल्न स्थानीय जनप्रतिनिधि आवश्यक रहेको बताउनुभयो ।
संकटकालले स्थिर रहेको भौतिक संरचना निर्माणका पाटोहरु अब स्थानीय निर्वाचन मार्फत तीब्रता दिन सके मूलुकको विकासले सोचेभन्दा छिटो फड्को मार्ने उहाँको विश्वास छ । चितवनमा १ महानगरपालिका सँगै ५ नगरपालिका र १ गाउँपालिका छन् । ति मध्ये सबैजसो क्षेत्र पर्यटकीय हिसावले निकै महत्वपूर्ण छन् । बन्यजन्तु संरक्षण देखि धार्मिक एवम् प्राकृतिक सम्पदाका कारण सबै क्षेत्रहरु पर्यटकीय गन्तव्यको रुपमा अगाडी छन् ।
मेघौली उपभोक्ता समितिका अध्यक्ष श्याम अधिकारीले पर्यटन र संरक्षणको पाटोमा बढ्दै गएको समस्या समाधानका लागि स्थानीय तहको निर्वाचन अनिवार्य आवश्यक रहेको बताउनुभयो । नदी कटान, जंगली जनावरको समस्या, बाटोको अवस्था लगायतका समस्याहरु स्थानीय तहको निर्वाचन पछि क्रमिक रुपले जनप्रतिनिधि मार्फत समाधान हुन सक्ने उहाँको बुझाई छ ।

बन्द, हड्ताल जस्ता गतिविधिहरु समेत सधैका लागि अन्त्य हुन सक्ने भएकाले स्थानीय निर्वाचन निर्धारित समयमा नै हुनुपर्ने स्थानीय पर्यटन व्यवसायीहरुको माग छ । क्षेत्रीय होटल संघ सौराहा अध्यक्ष सुमन घिमिरेले स्थानीय निर्वाचनको तयारीले पर्यटन व्यसायीहरुमा उत्साह थपिएकाले यो वा त्यो बहानामा सरकारको तयारीलाई कमजोर बनाउन नहुने बताउनुभयो । आर्थिक सम्बृद्धीका लागि स्थानीय तहको निर्वाचन आवश्यक छ उहाँले भन्नुभयो – यसलाई सबै मिलेर सफल बनाउन तर्फ लागौं ।