विप्लव माओवादीको चितवन सभामा प्रहरी हस्तक्षेप, धर्मेन्द्र बास्तोलासहित २२ जना पक्राउ

 

चितवन, ७ बैशाख । विप्लव माओवादीले चितवनको भरतपुरमा आयोजना गरेको सभालाई प्रहरीले बिथोलिदिएको छ । चौबिसकोठीमा आयोजित सभालाई पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सम्वोधन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको थियो ।

कार्यक्रम स्थलबाट प्रहरीले २२ जनालाई नियन्त्रणमा समेत लिएको विप्लव माओवादीले जनाएको छ ।
विप्लव माओवादीले चुनाव विरोधी गतिविधि गरिरहेकाले हस्तक्षेप गर्नुपरेको प्रहरी स्रोतले बतायो । विप्लव माओवादीले आसन्न स्थानीय तहको चुनावलाई असफल पार्न अभियान चलाइरहेको छ ।

चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार सुरुमा विप्लव माओवादीले शान्तिपूर्ण र्‍याली निकालेको थियो ।

तर, सभा हुने बेला माओवादी कार्यकर्ताहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । दिउँसो दुई बजेदेखि चार बजेसम्म ढुंगा हानाहान भएको थियो भने विप्लव माओवादी कार्यकर्ताहरुले बिभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका थिए । त्यसपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको थापाले बताए ।