संविधानका उपलब्धी माओवादी आन्दोलनका उपज हुन : पथिक

चितवन, ३० चैत । नेकपा (माओवादी केन्द्र) को भरतपुर उपमहानगरपालिका वडा नम्बर १० को कार्यालय विधिवतरुपमा संचालन शुरु भएको छ । माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य एवं चितवन मकवानपुर इन्चार्ज सूर्य सुवेदी पथिकले बुधबार बिहान उक्त कार्यालयको विधिवत उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटनको क्रममा प्रमुख अतिथि पथिकले स्थानीय तहको निर्वाचन हार र जीत जे भएपनि माओवादी आन्दोलनको उपलब्धी भएको बताएका थिए । उनले इतिहासमा भएका विभिन्न आन्दोलन र त्यसको जस जसले नेतृत्व गरेको हुन्छ त्यसैलाई जाने बताउँदै २००७ सालको आन्दोलनको मुख्य नेतृत्व नेपाली काँग्रेस र २०४६ ÷०४७ को आन्दोलनको जस नेपाली काँग्रेस र नेकपा एमालेलाईनै जाने त्यसमा अन्य शक्ति सहयोगी मात्र भएको बताएका थिए ।
संघीय गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व लगायत पछिल्लो संविधानमा रहेका व्यवस्था माओवादी आन्दोलनको उपज भएको दाबी गरे । १० बर्षे जनयुद्धको जगमा सफल २०६२ ÷०६३ को जनआन्दोलन र त्यसले स्थापित गरेका उपलब्धी पनि माओवादीकै उपज भएको उनको दाबी थियो । उनले २००७ साल र २०४६÷०४७ सालका आन्दोलनमा जस्तै २०६२ ÷०६३ को आन्दोलनमा पनि सबैसबै राजनीतिक पार्टीको सहकार्य भएको उनको भनाई थियो । पथिकले आफ्नो पार्टीले जनयुद्धकालदेखिनै गणतन्त्रको नारा लगाउँदै आएको तर, पछिल्लो जनआन्दोलन २०६२ ÷०६३ सफल हुँदा सम्मपनि काँग्रेस एमाले गणतन्त्रको पक्षमा आउन धेरै आनाकानी गरेको आरोप लगाए । तर, यति बेला ती शक्ति यो र त्यो बाहानामा प्राप्त उपलब्धीलाई स्थापित हुन नदिने खेलमा रहेको उनको आरोप थियो ।
वडा अध्यक्ष विश्वनाथ ओझाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं चितवनका सहइन्चार्ज घनश्याम दाहाल अविनास, जिल्ला संयोजक यमबहादुर परियार, वडा इञ्चार्ज खेम दर्जी, वडा कोषाध्यक्ष विष्णु पौडेल, निशा न्यौपानेलगायतले बोलेका थिए ।