एकै दिन समाइयो दुई गैंडा, भाले जाने भो बर्दिया

चितवन, चैत २२ । चितवन राष्ट्रिय निकुञ्जले डाट गरेर आज एकै दिन दुईवटा गैंडालाई नियन्त्रणमा लिएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार आज बिहान ८ बजेतिर अन्दाजी ८/१० वर्षको एउटा अर्धवयस्क भालेलाई नियन्त्रणमा लिएको र बिहान करिव ११ बजेतिर अर्काे अर्धवयस्क पोथी गैंडालाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए।

उनले हिजै शुक्लाफाँटामा भाले लगिसकिएकाले आज समाइएको भाले गैंडालाई भने बर्दियामा लगेर छाडिने बताए।

हिजो सोमबार पठाइएको गैंडालाई आज करिव एक बजेतिर शुक्लाफाँटामा छाडिएको समेत उनले जानकारी दिए। आज समाइएका दुईवटा गैंडालाई आजै पठाइने निकुञ्जको भनाइ छ।

सोमबार चितवन निकुञ्जको पश्चिम क्षेत्रमा डाट गरेर बेहोस बनाई नियन्त्रणमा लिइएको अन्दाजी १५/१६ वर्षको वयस्क भाले गैंडालाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइएको थियो। शुक्लाफाँटामा एक भालेसहित पाँच गैंडा लगिने तयारी छ। यसपालि बर्दियामा लैजाने कार्यक्रम नभए पनि थप एउटा भाले समाइएकाले त्यसलाई बर्दिया लगेर छाडिने निकुञ्जले जनाएको छ।

गैंडा समाउन चिकित्सक र प्राविधिक टोलीसहित ३० हात्ती र झण्डै एक सय जना निकुञ्जको पश्चिम क्षेत्र सुखिभारमा खटाइएको छ। सन् २००१ मा शुक्लामा पहिलो पटक यहाँबाट चार गैंडा पठाइएको थियो। हाल नेपालमा ६४५ गैंडा छन्। त्यसमध्ये छ सयवटा चितवनमा छन् भने नौवटा शुक्लामा छन्। सन् १९८४ देखि सुरु भएको गैंडा स्थानान्तरणमा बर्दियामा मात्रै ८८ वटा पठाइसकिएको जानकारी निकुञ्जले दिएको छ।