बेचबिखनका घटना रोक्न सरकारले नीतिगत प्रयासहरु गर

 

चितवन, चैत्र २२ । सिमा नाकामा हुने महिला तथा बालबालिका बेचबिखनका घटना न्युनिकरण गर्न सरकारले नीतिगत प्रयासहरु गर्नुपर्ने सिमा क्षेत्रका महिलाहरुले बताएका छन् ।

भारतीय सिमा नाकासंगै जोडिएको माडीको बगईमा भएको सिमानाकामा हुने महिला तथा बालबालिका बेचबिखन विरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्ने महिलाहरुले बेचबिखन जस्ता अपराधिक घटना न्यूनिकरणका लागि राज्य स्तरबाट नै सचेतना लगायतका कार्यक्रमहरु गर्नुपर्ने बताएका हुन् ।

जिल्ला बालकल्याण समित चितवनले आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारकर्मी तथा समितिकी सदस्य मीना खरेलले सिमा क्षेत्रको आसपासमा बस्ने महिलाहरुले आफ्ना बस्ती तथा बजारहरुमा नयां मानिसहरु आउंदा सोध खोज गर्नुपर्ने बताउनुभयो । विशेषगरि, महिला तथा बालबालिकाहरु सिमा क्षेत्रमा जांदा के कस्ता मानिसहरुसंग जाने गरेका छन् भन्ने विषयलाई सिमा क्षेत्रकै वासिन्दाले चनाखो भएर बुझ्नु पर्ने बताउनुभयो ।

आर्थिक स्तर कमजोर भएका परिवारका महिला र साना बालबालिकाहरुलाई मिठो खाने र राम्रो लगाउन दिने प्रलोभनमा पारेर बेचबिखनका लागि लैजान सक्ने भन्दै उहांले बेचबिखनका विषयमा विद्यालय तहबाट नै शिक्षक/शिक्षिकाहरुले जोड दिएर पढाउनु पर्ने बताउनुभयो । यसैगरि, कार्यक्रममा बोल्दै नेकपा एमाले माडी नगर कमिटिका अध्यक्ष्ँ नारदमणी पौडेलले सुगम जिल्लाको दुर्गम ठांऊ भनेर चिनिने माडीमा यस्ता किसिमका चेतनामुलक कार्यक्रमहरु अत्यावश्यक रहेको बताउनुभयो ।

समय समयमा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारेर बेचबिखनका लागि लैजाने गरेका घटनाहरु देखिने गरेको र सिमा क्षेत्रका वासिन्दालाई यस्ता घटनालाई निरुत्साहित गर्ने खालका कार्यक्रमहरु बेला बेलामा गर्नुपर्ने उहांले बताउनुभयो ।

महिलाहरुले पनि कोही कसैले लोभ लालच वा प्रलोभन देखाउने किसिमका कुराहरु गरेमा आफ्ना परिवार, तथा साथी भाईहरुलाई भन्नु पर्ने र प्रत्यक्ष सर सल्लाह गरि सो विषयमा छलफल गर्नुपर्ने उहांको भनाई थियो ।

यसैगरि, कार्यक्रममा बोल्दै, माडी बांदरझुलाकी विष्णु लामिछानेले जनयुद्धको समयमा धेरै जसो महिला तथा बालबालिकाहरु हराएका र तिनीहरु अझै पनि फेला नपरेको बताउनुभयो । खासगरि, विपन्न परिवारका महिलाहरुलाई वैदेशिक रोजगारका लागि पठाइदिन्छु भनेर लग्ने, भारतबाट विदेश जांदा खर्च कम लाग्छ भन्ने जस्ता प्रलोभन देखाएर बेचबिखनका लागि लग्ने गरेको लामिछानेको भनाई छ ।

सरकारले यस्ता किसिमका घटनाहरु कम गर्न सिमा नाकामा सुरक्षा व्यवस्था कडा गरिदिए, देशमा रोजगारी, र महिलाहरुलाई सिपमुलक तालिमको व्यवस्था गरिदिए बेचबिखनलाई न्युनिकरण गर्न सहयोग पुग्ने उहांले विश्वास व्यक्त गर्नुभयो ।

माडी नगरपालिकाको समन्वयमा भएको कार्यक्रम “एउटै लक्ष्य एउटै सार, मानव बेचबिखनको अन्त्य हाम्रो सरोकार“ भन्ने नारा सहितको आयोजना गरिएको हो ।
समितिकी मिठु आचार्यले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रममा माडी क्षेत्रका झन्डै २ सय भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रम महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख महिला विकास अधिकृत शान्ता कुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।