ग्रामिण क्षेत्रका अपांग बालबालिकाहरुको पहुंच छैन्

कुल काफ्ले
चितवन, चैत २१ । अपांगता परिचय पत्र वितरणमा ग्रामिण क्षेत्रका अपांग बालबालिकाहरुको पहुंच नपुगेको देखिएको छ । चितवनमा रहेका एक चौथाई अपांग बालबालिकाहरु मात्रै अपांगता परिचय पत्र लिन महिला तथा बालबालिका कार्यालय पुग्ने गरेका छन् । अपांगता परिचय पत्र लिई सरकारले दिएको सेवा सुविधा लिन सकिने विषयमा अधिकांश अपांगता भएका बालबालिकाहरुका अभिभावकहरु अनविज्ञ रहेका छन् ।

यस विषयमा अभिभावकहरुलाइ प्रभावकारी सचेतनाका कार्यक्रमहरुको आवश्यकता देखिएको छ । बहु अपांगता भएका बालबालिकाहरुमा पहुंच पुग्न नसकेको यस क्षेत्रका सरोकारवालाहरु वताउंछन् । महिला तथा बालबालिका कार्यालय चितवनका अनुसार आर्थिक बर्ष २०७३÷७४ को फागुन मसान्त सम्ममा जम्मा ३ सय ७ जनाले अपांगता परिचय पत्र लिएका छन् । सवैभन्दा बढि ‘ख’ बर्गको निलो परिचय पत्र लिने अपांग बालबालिहरु मध्ये महिलाको संख्या ६० जना र पुरुषको संख्या ९३ जना रहेका छन् ।

‘ख’ बर्गको निलो परिचय पत्र लिने अपांग बालबालिकाहरु अति अशंक्त बर्गका एवं निरन्तर अरुको सहयोगको आवश्यकता पर्ने किसिमका बालबालिकाहरु पर्दछन् । अरुको सहयोगमा पनि जिवनयापन गर्न नसक्ने ‘क’ बर्गका रातो परिचय पत्र लिने अपांग बालबालिहरुमा महिलाको संख्या ५ र पुरुषको संख्या १९ रहेको छ । त्यस्तै ‘ग’ बर्गको पहेंलो परिचय पत्र लिनेहरुमा महिला ३९ र पुरुष ६५ एवं ‘घ’ बर्गको सेतो परिचय पत्र लिनेहरुमा महिला ९ र पुरुष १७ जना रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ‘क’ बर्गका अपांग बालबालिहरुले मासिक २ हजार रुपैंया भत्ता र ‘ख’ बर्गका अपांग बालबालिकाहरुले मासिक ६ सय रुपैंया भत्ता सम्बन्धित नगरपालिका वा गाउंपालिकाबाट प्राप्त गर्न सक्नेछन् । ग्रामिण क्षेत्रका अपांग बालबालिकाहरुलाइ अपांग परिचय पत्र वितरणका लागि वडा समिति र महिला सहकारि मार्फत सचेतना कार्यक्रम भइरहेको कार्यालयकी महिला विकास अधिकृत कलावति ओझाको भनाइ छ । आवाज

महिला तथा बालबालिका कार्यालय चितवनले यसै बर्र्षदेखि शुरु गरेको ज्येष्ठ नागरिक परिचय पत्र वितरणमा ज्येष्ठ नागरिकहरुको उल्लेख्य सहभागिता रहेको कार्यालयले जनाएको छ । चालु आर्थिक बर्ष २०७३/७४ को आठ महिनाको अवधिमा यस कार्यालयबाट १ हजार ९ सय ७० जना ज्येष्ठ नागरिकहरुले परिचय पत्र लिई सकेका छन् ।

परिचय पत्र लिने ज्येष्ठ नागरिकहरुमा ९ सय ३१ जना महिला र १ हजार ३९ जना पुरुष रहेको महिला विकास अधिकृत कलावति ओझाले जानकारी दिइन् । परिचय पत्र लिएका ज्येष्ठ नागरिकहरुलाइ सार्वजनिक यातायात र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट साथै अन्य सेवामा प्राथमिकतामा राखिने उनको भनाइ छ ।