चितवनमा म्यादी प्रहरीका लागि ३ हजार १ सय ७९ जनाको आवदेन

चितवन, १८ चैत । चितवनमा आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा निवेदन दिनेहरूको संख्या ३ हजार १ सय ७९ जना रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनमा आवेदन फारम बुझाउनेहरुको अत्यधिक भीडभाड भएको थियो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दिपक थापाका अनुसार चितवनबाट ३ हजार १ सय ७९ जनाले म्यादी प्रहरीका लागि निवेदन दिएका छन् । जसमा ५ सय १९ जना महिला रहेका छन् । म्यादीको फारम भर्नेहरुमा अधिकांश युवा रहेका छन ।

पूर्वप्रहरी, पूर्वम्यादी र विदेशका विभिन्न कम्पनीहरुमा सुरक्षा गार्डका रुपमा काम गरेकाहरुसँगै शैक्षिकस्तरका हिसाबले स्नाकोत्तरसम्म अध्ययन गरेका युवाले पनि म्यादीका लागि निवेदन दिएको प्रहरीले जनाएको छ । राज्यले रोजगारीको उचित प्रवन्ध गर्न नसक्नु र लगानीको वातावरण बनाउन नसक्दा अधिकांश युवाहरु बेरोजगारीको चपेटामा परेका छन् ।

बेरोजगार बस्न भन्दा केही समयका लागि भए पनि म्यादी प्रहरीमा जागिर गर्न युवाहरु तम्सिएका हुन् । सामान्य लेखपढ गरेका देखि स्नातकोत्तरसम्म अध्ययन गरेका युवाले आवेदन दिएका छन् । देशैभरबाट ७५ हजार जना मागेको यसको दोब्बरले फराम भरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसका लागि छनोट परिक्षा भने भोलीबाट सुरु हुनेछ ।