चितवनको एक मात्र गाउँपालिका ईच्छाकामनामा त्रिपक्षिय भिडन्त हुने

हिरालाल गुरुङ,
चितवन, चैत १८ । चितवनको एक मात्र ईच्छाकामना गाउँपालिकामा पनि स्थानिय निकायको चुनावको मिति घोषणासगैँ राजनीतिक दलहरुमा सगर्मी बढेको छ ।
यस क्षेत्रमा विशेष गरेर नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
चुनाव नजिकिदै गर्दा विभिन्न व्यक्तिको नाम चर्चामा छन् । यस क्षेत्रमा नेपाली कांग्रेसमा तीन जना आंकाक्षी देखिएका छन् । काँग्रेसका पूर्व महासमिति सदस्य रामबहादुर लामा, नेपाल शिक्षक संघका संघीय प्रतिनिधि एवंम महिला नेतृ गीता गुरुङ, साबिक दारेचोकका सभापति कीर्तिकुमार श्रेष्ठले पार्टी बैठकमा नै आफ्नो इच्छा जाहेर गरेका छन् । इच्छा जाहेर गर्ने नेताहरु बढेपनि कसलाई टिकट दिने भन्ने बारे भने छलफल भईरहेको काँग्रेसले जनाएको छ । इच्छा जाहेर गर्ने तिनैजनाले आफुले जित्ने आधारसहित उम्मेदवारी दावी गरेका छन्।
यस्तै एमालेमा पनि ३ जनाको नाम चर्चामा छ । जिल्ला सचिवालय सदस्य नारायण अधिकारी, जिल्ला सदस्यहरु श्रीप्रसाद कँडेल र जुनाराज भण्डारीले पार्टी भित्र छलफल चलाएका छन् ।
त्यसैगरि नेकपा माओवादी केन्द्रमा भने केन्द्रिय सदस्य प्रताप गुरुङ ‘मौसम’को संभावना बढेको छ । अहिले सम्म उम्मेदवारीका लागि अन्य कसैले दावी नगरेको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले गाउँपालिका अन्तरगत सबै ७ वटै वडाहरुमा भेला सम्पन्न गरिसकेको छ भने कांग्रेस र एमाले अहिले वडा भेलाहरुमा जुटिरहेका छन् । ईच्छाकामना गाउँपालिका अन्तरगत चितवनको साबिकका चार पहाडी गाविसहरु दारेचोक, दाहाखानी, चण्डिभञ्ज्याङ र काउले रहेका छन् ।